रौतहट — काठमाडौँमा हिजो भएको प्रहरी दमनका घटनाको विरोधमा आज रौतहटका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। जेनेरेसन–जी (Gen-Z) आन्दोलनमा राजधानीमा मात्रै १९ जनाको ज्यान गएको घटनापछि आक्रोशित युवाहरु आज बिहानैदेखि सडकमा उत्रिएका हुन्।

रौतहटको चन्द्रनिगाहपुरमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमै टायर बालेर युवाहरुले सडक जाम गरेका छन्। सरकारविरुद्ध चर्का नाराबाजी गर्दै सडकमा निस्किएका उनीहरुले राजमार्ग अवरुद्ध गरेपछि पूर्व तथा पश्चिमतर्फ गएका सयौं सवारी साधन रोकिएका छन्। लामो समयसम्म राजमार्ग अबरुद्ध हुँदा यात्रुहरु समेत मर्कामा परेका छन्।

यस्तै गौर, गरुडा, कटहरिया लगायतका स्थानमा समेत स्वतःस्फूर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले शासन प्रणाली र भ्रष्टाचारविरुद्ध सरकारको जिम्मेवारी माग गर्दै विभिन्न नारा लगाएका थिए।

स्थानीय प्रशासनले भने परिस्थिति नियन्त्रणमा लिन सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ। तर, प्रदर्शनमा उत्रिएका युवाहरुले आफूहरु दमन, हत्या र बलपूर्वक दमनकारी राज्य शक्तिको विरोधमा सडकमा उत्रिन बाध्य भएको बताएका छन्।