📌 सारांश
- मकवानपुर, राक्सिराङ–१ मा विपन्न चेपाङ दम्पतीमाथि चरम अत्याचार।
- पति रुखमा बाँधिएका बेला पत्नीमाथि जबरजस्ती करणी।
- आरोपी ४२ वर्षीय अन्तरे थिङ पक्राउ, थप अनुसन्धान जारी।
- पीडित परिवार दयनीय अवस्थामै, मुख्यमन्त्रीले दशैँअघि घर बनाइदिने प्रतिवद्धता गरेका थिए।
- घटनाले स्थानीय समाज स्तब्ध।
पश्चिम मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न पनि नसक्ने एक विपन्न चेपाङ दम्पतीमाथि चरम अमानवीयता प्रकट भएको छ।
भदौ २६ गते राति जंगलनजिक एकान्तमा रहेको सानो छाप्रोमा बसिरहेका दम्पतीमाथि स्थानीय ४२ वर्षीय अन्तरे थिङले कुकर्म गरेको खुलेको हो। घटनाका क्रममा पति मकवानपुर–१ (नाम परिवर्तन) लाई रुखमा बाँधेर, दुई महिनाअघि मात्र सुत्केरी भएकी उनकी पत्नीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै राक्सिराङ प्रहरी चौकीले अनुसन्धान सुरु गरी आइतबार साँझ आरोपीलाई नियन्त्रणमा लिएर मनहरी इलाका प्रहरी कार्यालय पठाएको छ। पीडित परिवारका भनाइअनुसार, जबरजस्ती करणीको क्रममा आरोपीले पीडितलाई बाहिर कोही आएको छ कि भनेर निगरानी गर्न समेत बाध्य पारेको खुल्न आएको छ।
दम्पती दयनीय अवस्थामा जीवन बिताइरहेका छन्। आफ्नो घरसमेत नभएकाले उनीहरू छाप्रोमा बसिरहेका थिए। गत भदौ ३ गते गाउँपालिकाले चामल, दाल, तेल, नून, त्रिपाल र कम्बलसहित राहत उपलब्ध गराएको थियो।
यसैबीच, भदौ ११ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दशैँअघि नै आफ्नै तलब भत्ताबाट दुई कोठा, भान्सा र शौचालयसहितको घर निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए। विपन्न परिवारले नयाँ घरको आशा पलाउँदै गर्दा यस्तो अमानवीय घटना हुँदा स्थानीय समुदाय स्तब्ध बनेको छ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घटनालाई समाजकै लागि कलंक भएको बताउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
(पीडितको गोपनीयताका लागि नाम परिवर्तन गरिएको छ)








