रौतहट,८ असोज । भारत–नेपाल सीमावर्ती क्षेत्रबाट लागुऔषध ल्याउँदै गरेका मोतीहारीका एक तस्करलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रौतहटको बंकुल बजारनजिक पक्राउ गरेको छ। मोटरसाइकलको डिकीबाट ट्रामाडोल क्याप्सुल ४० थान बरामद गरिएको छ।

रौतहटको बंकुल बजारमा सीमापारी भारतीय बजार घोडासहनतर्फबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा एक तस्कर पक्राउ परेका छन्। भारत–नेपाल सीमा नजिक घोडासहन अन्तर्गत पर्ने लक्ष्मीनिया टोलामा एसएसबी ७१वीं बटालियन न्यू कोरैयाले कारबाही गर्दा नशालु औषधिसहित तस्कर पक्राउ परेको हो।

पक्राउ पर्नेमा भारत, बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत कोरैया गाउँ, झरोखर पञ्चायतका राजु प्रसाद कुशवाहा रहेका छन्।

उनको मोटरसाइकलको डिकीबाट ट्रामाडोल ४० क्याप्सुल बरामद भएको एसएसबीले जनाएको छ। कुशवाहा बंकुलस्थित राजवीर नामका व्यक्तिलाई औषधि पुर्‍याउने क्रममा समातिएका हुन्।

पक्राउ परेका कुशवाहालाई थप कारबाहीका लागि झरोखर थानामा बुझाइएको छ।