अशोक पहाडी
चन्द्रपुर,१४ असोज ।
डिभिजन वन कार्यालय रौतहट यतिबेला भ्रष्टहरूको अखडा बनेको छ । विभिन्न बहानामा डिभिजन वन कार्यालय रौतहटका कर्मचारीले सर्वसाधारणलाई कज्याउने काम गर्दै आएका छन् ।
पैसा दिए राम्रो नदिए नराम्रो भन्ने उखानलाई यतिबेला डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरुले चरितार्थ गर्दै आएका छन् । मधेस प्रदेशमै सबैभन्दा धेरै राष्ट्रिय सामुदायिक र साझेदारी वन रहेको रौतहट जिल्लामा आउनका लागि वन कर्मचारीहरुले मधेस प्रदेशका वनमन्त्रीलाई नजरान बुझाएर आउने गरेका छन् ।
माथिल्लो तहमा पैसा बुझाएर आएपछि उनीहरूको ध्याउन नै पैसा कमाउने रहने गरेको छ । यसको ज्वालन्त उदाहरण हुन् डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको बलेरी सव डिभिजन कार्यालयका तत्कालिन प्रमुख ललन राउत कुर्मी । भ्रष्ट स्वभावका ललन राउत कुर्मीले केही समय अगाडि बलेरीको बागमतीमा फडानी गरिएको बगर जोत्न गएको एक टेक्टर पक्राउ गरी ल्याएर ५० हजार असुलेर छाडेका छन् ।
बलेरीको राष्ट्रिय वन क्षेत्रमा पर्ने बागमती क्षेत्रको बगर अतिक्रमण गरेर स्थानीय बासिन्दाले खेतीयोग्य जमिन बनाउँदा समेत कानमा तेल हालेर बसेका वन कर्मचारीहरुले भाडामा सो स्थानमा जोत्न गएको एक ट्याक्टरलाई डिभिजन वन कार्यालयमा ल्याई १३ दिनसम्म राखी ट्याक्टर धनीसँग ५० हजार रुपैयाँ असुल गरी छाडिएको थियो । सो ट्याक्टर भाडामा उक्त स्थानमा जोत्न गएको भन्दै छाडिदिनका लागि पूर्व माननीयदेखि समाजसेवीसम्मले आग्रह गर्दा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार शाहले वास्ता गरेका थिएनन् । केही सिप नलागेपछि ट्रेक्टर धनीले सहायक वन अधिकृत ललन राउत कुर्मीलाई ५० हजार बुझाएर आफ्नो ट्याक्टर डिभिजन वन कार्यालय रौतहटबाट निकाल्न सफल भएका थिए । ती ट्याक्टर धनीले भने आफूले ट्याक्टर छुटाउनका लागि विभिन्न निकाय धाएको तर कसैले वास्ता नगरेपछि आफूले ट्याक्टर निकाल्नकै लागि बाध्य भएर कुर्मीलाई ५० हजार दिएपछि उनले कागज मिलाएर ट्रेक्टर छाडिदिएको बताए । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरूले व्यवसायिक रूपमा दाउरा बोक्ने डाफेसँग मासिक रकम असुल्दै आएका छन् । मासिक रूपमा रकम नदिने डाँफे चालकहरूलाई पक्राउ गरेर १५००० सम्म जरिवाना लिने गरेका छन् । पछिल्लो समय रौतहटको राष्ट्रिय तथा साझेदारी वनमा वन कर्मचारीकै मिलेमतोमा व्यापक रुपमा चोरी तस्करी हुँदै आएको छ । चोरी तस्करीमा संलग्न रहेका वन कर्मचारीहरूलाई माथिल्लो निकायदेखि नै संरक्षण हुँदै आएका कारण रौतहटको वन दिनप्रतिदिन तस्करको धन बन्दै गएको छ । रौतहटको वनमा सरुवा भएर आउनका लागि वन कर्मचारीहरूले मधेश प्रदेशका वन कर्मचारीदेखि सचिवसम्मलाई मोटो नजराना बुझाएर आउने गरेको समाचार स्रोतको दाबी छ । एक स्थानीय बासिन्दाका अनुसार वन कर्मचारीकै मिलेमतोमा बलेरीको वनबाट पछिल्लो समय स्थानीय बासिन्दाले टक्टरका ट्रेक्टर काँचा सालका गुलिया तस्करी गर्ने गरेका छन् । मधेस प्रदेशमै धेरै राष्ट्रिय तथा सामुदायिक वन रहेको रौतहट जिल्लामा घुस्याहाँ वन कर्मचारीका कारण राष्ट्रिय वन नै खेतीयोग्य जमिनमा परिणत हुँदै आएको छ । ट्रेक्टर पक्राउ गरेर डिभिजन वन कार्यालय रौतहटमा ल्याई १३ दिन राखेर ५० हजार असुल्ने सहायक फोन अधिकृत कुर्मीलाई भने यतिबेला डिभिजन वन कार्यालयमै तानिएको छ । काठ चोरी तस्करी गराउनुका अलावा डिभिजन वन कार्यालय रौतहट अन्तर्गतका सब वन डिभिजन कार्यालयका प्रमुखहरूले वृक्षारोपणका नाममा समेत हरेक वर्ष लाखौं रकम हिनामिना गर्दै आएको एक वन कर्मचारीले बताएका छन् । हरेक वर्ष वृक्षारोपणका नाममा लाखौं बिरुवाहरू रोपिने गरेको भएपनि ती बिरुवाहरु कहीँ कतै देखिने गरेको छैन । बिरुवाका अलावा तार जालीका नाममा समेत डिभिजन वन कार्यालय रौतहटमा व्यापक आर्थिक अनियमितता हुने गरेको समाचार स्रोतको दाबी रहेको छ । तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








