बारा, ३ कात्तिक ।
नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले बारा जिल्लाका पत्रकारको मोबाइल रेकर्डिङ रोक्ने तथा समाचार संकलनमा अवरोध पुर्‍याउने कार्य गैरकानूनी र प्रेस स्वतन्त्रतामाथि प्रहार भएको जनाएको हो।

महासंघका सचिव पुष्पराज खत्रीवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“प्रशासनका केही कर्मचारीले समाचार संकलन गरिरहेका पत्रकारहरूप्रति देखाएको व्यवहारले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि आघात पुगेको छ।”

विज्ञप्तिमा भनिएको छ कि सो घटनाले पत्रकार समुदायलाई असुरक्षित महसुस गराएको छ र यसले संविधानले दिएको प्रेस स्वतन्त्रताको मर्मविपरीत कार्य भएको छ। महासंघले घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेको छ।

महासंघले बाराका प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पत्र पठाउँदै घटनाप्रति ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ,

“प्रशासनको जिम्मेवारी नागरिकको हक सुनिश्चित गर्नु हो, पत्रकारको काममा अवरोध सिर्जना गर्नु होइन। प्रशासनले यस्तो कार्य दोहोरिन नदिन कडा निगरानी र कारबाहीको व्यवस्था गर्नुपर्छ।”

महासंघले बाराका सबै पत्रकारलाई संयमता र पेशागत आचारसंहिताभित्र रही जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेको छ। साथै, संघले पत्रकारको सुरक्षासम्बन्धी वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासनलाई विशेष ध्यान दिन पनि आग्रह गरेको छ।