रौतहट । चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानहरूमा राखिएका सडक बत्तीहरू नबलेको गुनासो स्थानीयवासीले गरेका छन् । लाखौं रुपैयाँ खर्च गरेर जडान गरिएका सडक बत्तीहरू एक वर्ष पनि नपुग्दै बिग्रिन थालेपछि स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

चन्द्रपुर नगरपालिका–१० बडेर्वा लगायतका स्थानहरूमा जडान गरिएका बत्तीहरू लामो समयदेखि नबलेको बताइएको छ । सन्तपुरका स्थानीय बासिन्दा राजन तिमल्सिनाले भने, “नगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेर सडक बत्ती जडान गर्‍यो, तर एक वर्ष नपुग्दै सबै नबलेर स्वाहा भए ।”

स्थानीयवासीहरूका अनुसार सडक बत्ती नबलेका कारण रातको समयमा सवारी साधन र पैदल यात्रीहरूलाई आवतजावतमा कठिनाइ भइरहेको छ । साथै, अन्धकारका कारण असुरक्षा र दुर्घटनाको जोखिम पनि बढेको जनाइएको छ ।

यसैबीच स्थानीयले नगरपालिकालाई तत्काल सडक बत्तीहरूको मर्मत सम्भारमा ध्यान दिन र स्थायी समाधान निकाल्न माग गरेका छन् । उनीहरूका अनुसार समयमै मर्मत सम्भार नभए पूर्वाधारमा लगानी गरिएको रकम बेकार हुने जोखिम छ ।