रौतहत । नेकपा एमाले देवाही गोनाहि नगर कमिटीको आयोजनामा बितेको दशैं, तिहार र आउँदो छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा (एमाले) रौतहटका अध्यक्ष सचिदानन्द शाह प्रमुख अतिथि रहनु भएको थियो। शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताहरू, नगर कमिटीका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेलले सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउँदै यस्तो अवस्थाबाट मुलुकलाई निकास दिलाउन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताएका थिए। उनले जेन–जी आन्दोलनले उठाएका केही मागहरू जायज भए पनि आन्दोलनका क्रममा भएका अराजक गतिविधिहरूको घोर निन्दा गरेका थिए।
त्यसैगरी, प्रमुख अतिथि अध्यक्ष सचिदानन्द शाहले मुलुकमा स्थिरता र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नका लागि सरकारले तत्काल निष्पक्ष र स्वच्छ निर्वाचनको वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि आगामी राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरण तथा समाजमा पार्टीको भूमिका सशक्त बनाउन सुझाव र विचार प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच दशैं, तिहार र छठ पर्वको पारस्परिक शुभकामना आदानप्रदान गर्दै एकआपसमा एकता र सहकार्यको सन्देश दिइएको थियो।








