काठमाडौं, १७ कार्तिक ।
रौतहटको माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर नागेन्द्र राय यादव र नगरप्रमुख बैजनाथ प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ।

आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा सोमबार दर्ता गरिएको उजुरीमा नगरपालिकामा व्यापक आर्थिक अनियमितता, फर्जी बिलमार्फत रकम हिनामिना र सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।

माधव नारायण नगरपालिका–३ का स्थानीय बासिन्दा आशितोष कुमार यादवले दर्ता गरेको उजुरीमा नगरप्रमुख यादवले नातामा ससुरा पर्ने इन्जिनियर नागेन्द्रलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर मिलेमतोमा अनियमितता गरेको उल्लेख छ।

उजुरीका अनुसार, २०७८–७९ सालमा मेयरमा निर्वाचित भएपछि यादवले आफूअनुकूलका प्रशासकीय अधिकृत ल्याई काम गराउने, असहयोग गर्ने अधिकृतलाई सरुवा गराउने तथा अनियमितता लुकाउने प्रयास गर्ने गरेको आरोप छ।

१२ बुँदे आरोपपत्रसहित दर्ता गरिएको उजुरीमा भ्रष्टाचार निवारण ऐन अनुसार छानबिन र कानुनी कारबाहीको माग गरिएको छ।

उजुरीमा समावेश मुख्य आरोपहरू यसप्रकार छन् —

  • प्रशासकीय भवन निर्माणको टेन्डर गोप्य रुपमा पारेर ठेक्का वितरण
  • २० प्रतिशत कमिशन लिएर मात्रै उपभोक्ता समितिलाई भुक्तानी दिने
  • विकास योजनालाई बढी कमिशनका लागि टुक्रा–टुक्रा पार्ने
  • संघीय तथा प्रदेश सरकारबाट आएका शर्तबद्ध अनुदानमा नक्कली बिल बनाएर भुक्तानी गर्ने
  • सडक बत्ती न्यून दरमा खरिद गरेर १० गुणा बढी रकम भुक्तानी गर्ने
  • सवारी साधन र इन्धनको दुरुपयोग
  • सामाजिक सुरक्षा भुक्ता वितरण प्रणालीमा समेत अनियमितता

निवेदक यादवका अनुसार, उजुरीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र उपभोक्ता समितिका पदाधिकारीबीचको अडियो संवाद समेत प्रस्तुत गरिएको छ। सो संवादमा “शर्तबमोजिम रकम दिनुपर्छ, यहाँ मेयरदेखि अख्तियारसम्म सबैलाई मिलाउनुपर्छ” भन्ने भनाइहरू रहेको बताइएको छ।

यस्ता गतिविधिका कारण नगरपालिकामा आर्थिक बोझ बढ्दै गएको र भ्रष्टाचारको प्रवृत्ति नियन्त्रण बाहिर गएको उजुरीमा उल्लेख छ। यादवले अख्तियारसँग यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।