रौतहट ।
कमिशन र आर्थिक अनियमितताको कारणले बदनाम बन्दै गइरहेका रौतहटको फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादव पुनः विवादमा तानिएका छन्। उनीका कमिशन लोभका कारण महिनौँदेखि काम सम्पन्न गरेका सप्लायर्सले भुक्तानी नपाएको गुनासो गरेका छन्।

सप्लायर ललितेश्वर श्रीवास्तवका अनुसार, फतुवा विजयपुर नगरपालिकाको उर्जा कार्यक्रम अन्तर्गत सन्तपुर कब्रिस्तानमा टावर लाइट र विभिन्न स्थानमा भेपर लाइट जडानको काम पूरा गरे पनि उनीहरू महिनौँदेखि रकम पर्खेर थाकेका छन्।

“निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसँगको व्यक्तिगत चिनजानकै आधारमा उहाँकै आग्रहमा दुई वटा काम गरें,” श्रीवास्तवले जनआस्थासँग भने, “तर अहिले महीनौँ भइसक्दा पनि भुक्तानीको कुनै अत्तोपत्तो छैन, बरु कमिशनको माग मात्र बढ्दै गएको छ।”

कोटेशन र टेण्डर दुवै कार्य सम्पन्न, भुक्तानी अड्कियो

सन्तपुरको कब्रिस्तानमा टावर लाइट जडानका लागि ९ लाख ९१ हजार ४५७ रुपैयाँ ४८ पैसा (भ्याटसहित) को कोटेशनमा सम्झौता भएको थियो। उक्त काम २०८१ चैत २८ गते पूरा गरी सम्पूर्ण कागजात पेश गरिए पनि हालसम्म भुक्तानी रोकिएको छ।

त्यसपछि, नगरपालिकाले २०८१ चैत ३० गते पुनः भेपर लाइट जडानका लागि बोलपत्र आह्वान गरेको थियो। घटाघट प्रक्रियामा प्रेस्था ट्रेडर्स एण्ड सप्लायर्स, गौर–५ ले १९ लाख ९५ हजार ८८५ रुपैयाँ १० पैसामा टेण्डर प्राप्त गरी असार १० भित्र काम सम्पन्न गरेको थियो।

“सम्झौताअनुसार काम पूरा गरेर फाइल पेश गरेँ,” श्रीवास्तव भन्छन्, “तर यादवले कलैयास्थित आफ्नो घरमा बोलाएर ३० प्रतिशत कमिशन मागे। मैले अस्वीकार गरेपछि चेकमै अड्काइदिए।”

फाइल गायब, उजुरी प्रशासनमा

श्रीवास्तवका अनुसार, यादवका इन्जिनियर फिरोज नामका करार कर्मचारीले कोटेशनको फाइल नै गायब गराएका छन्। बाध्य भएर उनले साउन ८ गते जिल्ला प्रशासन कार्यालय, गौरमा भुक्तानीका लागि लिखित उजुरी दर्ता गरेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीको हस्ताक्षरमा प्रशासनले फतुवा विजयपुर नगरपालिकालाई आवश्यक कारबाही गर्न पत्र पठाएको भए पनि कार्तिक १८ गतेसम्म पनि कुनै प्रतिक्रिया आएको छैन।

आगो लगाएर प्रमाण मेटाउने खेल !

पीडित श्रीवास्तवले आरोप लगाएका छन्— “जिन्सी फाँट प्रमुख हरेन्द्र यादवले खरिद दाखिला गर्नुपर्ने कागजात दाखिला नगरी जेनजी आन्दोलनको आडमा कार्यालयमा आगो लगाएर प्रमाण मेटाएका हुन्।”

उनले थपे, “मलाई उठिबास बनाउन र रकम नदिने योजनामा हाकिम यादव र जिन्सी प्रमुख यादव दुबैको साँठगाँठ छ।”

अडियो प्रमाण सहित कारबाहीको माग

श्रीवास्तवले यादवसँगको रकम मागिएको अडियो संवाद समेत आफूले सुरक्षित राखेको दाबी गरेका छन्। “त्यो अडियो प्रमाण मार्फत सत्य उजागर गर्न म तयार छु,” उनले भने, “म माग गर्छु — अख्तियार र सम्बन्धित निकायले भ्रष्ट हाकिम यादवमाथि कठोर कारबाही गरोस् र मेरो भुक्तानी तत्काल दिलाओस्।”

नगरपालिकाको प्रतिक्रिया छैन

यस विषयमा टिप्पणी लिन निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादवको मोबाइल नम्बर ९८५५०४५८२० मा सम्पर्क गर्दा उनले फोन उठाएनन्।