रौतहट,२४ कार्तिक । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गरेकी छन्।
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल भएको हैसियतले एमाले नेता यादवलाई मुख्यमन्त्री बनाइएको हो।
प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्याका कारण आज बिहान जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। त्यस क्रममा मुख्यमन्त्री सोनलले उनलाई बिदाइ गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए।
पत्रकारहरूसँग कुरा गर्दै सोनलले प्रदेश प्रमुख स्वस्थ भएपछि राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए।
तर सोही केही बेरपछि प्रदेश प्रमुख भण्डारीले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो।








