रुपेन्द्र पटेल
रौतहट, ५ मंसिर । चन्द्रनिगाहपुर-गौर सडकखण्डअन्तर्गत जयनगरमा स्कुल बसको ठक्करबाट एक दुई वर्षीय बालकको मृत्यु भएको छ।
रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रबार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको ओम एकेडेमी स्कुल बसले स्थानीय रंजन साहका २ वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
बसलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको र घटनापछि फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








