पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा आयोजना गर्न लागेको एकता सभाविरुद्ध स्थानीय व्यापारीहरूले धमाधम विरोध जनाएका छन्। सभाका कारण व्यवसाय ठप्प हुने भन्दै नजिकका व्यापारीहरू पर्चा–पम्प्लेटसहित विरोधमा उत्रिएका हुन्।
व्यापारीहरूले ‘गरि खान देऊ’ भन्ने माग गर्दै कार्यक्रम रोक्न नगरपालिका र सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन्।
पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीका अनुसार सडकमा हुने सभा–जुलुसले वर्षौंदेखि व्यवसायमा ठूलो असर पारेको छ। ‘शान्तिपूर्ण रूपमा माग राख्दा पनि सुन्ने कोही थिएन,’ उनले भने, ‘अहिले पनि उही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ, त्यसैले हामी विरोधमा छौं।’
चिप्लेढुंगा–सिद्धार्थचोक व्यवसायी समिति अध्यक्ष दुर्गा सुनारले अल्पकालीन फाइदाका लागि ‘सडक बेचिएको’ आरोप लगाए। उनका अनुसार व्यवसायीहरूको हित नहेरी कार्यक्रमका लागि सडक उपलब्ध गराउँदा निरन्तर मन्दी खेप्नुपरेको छ।
‘केही रकमको भरमा सडक बेचिँदैछ,’ सुनारले भने, ‘४ घण्टा सडक बन्द गर्दा हामीलाई कति नोक्सान हुन्छ, कसैले ध्यान दिँदैन। आजदेखि नै यस्ता कार्यक्रम बन्द गरिनुपर्छ।’
व्यापारीहरूले पोखरा महानगरका मेयर धनराज आचार्यप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सभास्थल परिवर्तन वा कार्यक्रम रोक्न माग गरेका छन्।