१६ मंसिर, जनकपुरधाम ।
सर्वोच्च अदालतले दिएको २४ घण्टे परमादेशपछि विश्वासको मत नलिएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज साँझ पत्रकार सम्मेलन गर्दै छन्।
मुख्यमन्त्रीको सरकारी आवासमा आज साँझ ५:३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको उनको सचिवालयले जनाएको छ। विश्वासको मत लिने कि राजीनामा दिने भन्ने विषयमा मुख्यमन्त्री यादवले आज दिनभर पार्टीभित्रका नेताहरूसँग र कानुनविदहरूसँग निरन्तर छलफल गरेका छन्।
सर्वोच्च अदालतको परमादेश गएराति ८ बजे नै इमेलमार्फत प्रदेश सभा र मुख्यमन्त्री कार्यालयमा पुगेको थियो। सो आदेशअनुसार २४ घण्टे समयसीमा आज राति ८ बजे समाप्त हुँदैछ।
यदि मुख्यमन्त्री यादवले निर्धारित समयसीमाभित्र विश्वासको मत नलिए र राजीनामा पनि नगरेका खण्डमा आज राति ८ बजेदेखि उनी स्वयम् पदमुक्त हुनेछन्।






