रौतहट,२७ मंसिर ।
रौतहटको माधवनारायण नगरपालिकामा कार्यरत लेखापाल रेणु यादवको लामो समयदेखिको अनुपस्थितिले नगरपालिकाको सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको छ।
स्थानीय स्रोतका अनुसार लेखापाल यादव करिब दुई महिनादेखि कार्यालयमा उपस्थित नभएपछि नगरपालिकाको दैनिक कार्य सञ्चालन नै ठप्प भएको छ। उपचारको बहानामा लामो समयदेखि भारतमा बस्दै आएकी यादव कार्यालयमा नआउँदा भुक्तानी, धरौटी फिर्ता, विकास निर्माणसम्बन्धी हिसाब–किताबलगायतका महत्वपूर्ण कामहरू रोकिएका छन्।
लेखापाल नहुँदा विभिन्न काम सम्पन्न गरी भुक्तानी लिन बाँकी रहेका व्यक्ति, समूह तथा उपभोक्ता समितिहरू चरम मारमा परेका छन्। धरौटी रकमसमेत फिर्ता नहुँदा उपभोक्ता समितिका पदाधिकारीहरू आर्थिक संकटमा फस्न बाध्य भएका छन्।
अझ गम्भीर कुरा के छ भने लेखापाल यादव कहिले कार्यालय फर्किन्छिन् भन्नेबारे कुनै निश्चित जानकारीसमेत छैन। उनले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९८५५०४०५५८ विगत दुई महिनादेखि निरन्तर स्विच अफ रहेको बताइएको छ।
जिम्मेवार पदमा बसेकी कर्मचारी यसरी सम्पर्कविहीन भई गायब हुनुले नगरपालिकामा प्रशासनिक अराजकता बढ्दै गएको स्थानीयवासीहरूको गुनासो छ। उनीहरूका अनुसार लेखापालको गैरजिम्मेवार व्यवहारका कारण कार्यालयको काम अस्तव्यस्त बनेको छ भने सेवाग्राहीहरू सास्ती भोग्न बाध्य छन्।
जिम्मेवार निकायले समयमै चासो नदिँदा यस्तो अवस्था सिर्जना भएको भन्दै स्थानीयवासीहरूले नगरपालिकाको नेतृत्व र सम्बन्धित निकायप्रति समेत गम्भीर प्रश्न उठाएका छन्।








