रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट राजकुमार दास तत्माको नाम एकल रूपमा सिफारिस गरेको छ।
पार्टीको क्षेत्रीय तथा जिल्ला तहका नेताहरूबीच भएको विस्तृत छलफल र सहमतिपछि तत्माको नाम एकल सिफारिस गरिएको हो। पार्टी स्रोतका अनुसार राजकुमार दास तत्मा लामो समयदेखि जसपा नेपालको संगठन निर्माण, जनसम्पर्क विस्तार तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन्।
स्थानीय तहमा राम्रो जनाधार, जनताका समस्याप्रति संवेदनशीलता तथा पार्टीप्रतिको इमान्दार निष्ठाका कारण उनको नाममा सर्वसम्मत सहमति जुटेको जसपा नेपाल रौतहटका नेताहरूले बताएका छन्। पार्टीले निर्वाचन क्षेत्र नं. ४ मा आफ्नो पकड अझ सुदृढ बनाउन सक्ने सक्षम, लोकप्रिय र जनउत्तरदायी उम्मेदवारका रूपमा तत्मालाई अघि सारेको जनाएको छ।
पार्टीका अनुसार क्षेत्रीय र जिल्ला तहबाट गरिएको उक्त सिफारिस अब केन्द्रीय समितिमा पठाइनेछ। केन्द्रीय समितिको निर्णयपछि अन्तिम उम्मेदवारको टुंगो लाग्ने बताइएको छ।
यसैबीच, जसपा नेपालका स्थानीय नेताहरूले राजकुमार दास तत्माको उम्मेदवारीले रौतहट–४ मा पार्टीको चुनावी रणनीतिलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्।








