अशोक पहाडी

रौतहट,२ पुस ।
रौतहटको वृन्दावन नगरपालिका–१ स्थित एक सिङ्गो बस्ती नै भूमाफियाको चंगुलमा परेको छ। स्थानीयका अनुसार इन्द्रप्रसाद गौतमबाट २०५८ सालमा कानुनी रूपमा खरिद गरिएको दुई बिघा ८ कट्ठा जग्गामा पछिल्लो समय स्याङ्जा र रामेछापका भूमाफियाहरूको गिद्दे नजर परेको हो।

स्थानीय १८ परिवारले घर बनाएर बसोबास गर्दै आएको उक्त जग्गा, इन्द्रप्रसाद गौतमका तीन दाजुभाइको नामबाट विधिवत रूपमा स्थानीयको नाममा गएको भए पनि २०६९ सालमा कृते लेनदेनको झुटा मुद्दा खडा गरी अदालतबाटै लिलाम गराउने खेल भएको पीडितहरूको आरोप छ।

स्थानीय बासिन्दा रोशन पटेलका अनुसार स्याङ्जाकी चुपा खनाललाई लेनदेनको धनी बनाइ कृत्रिम मुद्दा खडा गरियो र बस्ती नै उठीबास गराउने षड्यन्त्र अघि बढाइयो। फिल्ड बुकमा लगतकट्टा नभएको कमजोरीलाई आधार बनाएर माफियाहरूले अदालतमार्फतै जग्गा आफ्नो नाममा गराउन सफल भएको स्थानीयको दाबी छ।

अर्का स्थानीय वीरेन्द्र पटेलले गौरका एक व्यक्तिलाई ऋणीको आफन्त बनाइ जिल्ला अदालत गौरको बिगो फाँटका केही कर्मचारीको मिलेमतोमा बस्ती हटाउने प्रयास भइरहेको आरोप लगाए। चन्द्रनिगाहपुर मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्ने केही व्यक्तिहरू, जिल्ला अदालत गौरका कर्मचारी र बाहिरी जिल्लाका भूमाफियाबीच साँठगाँठ भएको स्थानीयको भनाइ छ।

हाल दुई बिघा ८ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा १८ परिवार त्रासका बीच बस्न बाध्य छन्। सो विषयमा अहिले जिल्ला अदालत गौरमा मुद्दा विचाराधीन रहेको छ। रामेछाप र स्याङ्जाबाट आएका भूमाफियाहरू सक्रिय हुन थालेपछि सिङ्गो बस्ती नै असुरक्षित बनेको स्थानीयको गुनासो छ।

स्थानीय बासिन्दा सुचिन्दर पटेलले अदालतकै केही कर्मचारीको मिलेमतोको आरोप भए पनि अन्ततः अदालतबाटै न्याय पाउने विश्वास आफूहरूमा रहेको बताए। २०६९ सालमा कृते लेनदेनको मुद्दा बनाएर जग्गा हडप्नेहरूलाई अदालतले कारबाही गर्नेमा स्थानीयहरू आशावादी छन्।