रौतहट,६ पुस । मधेस प्रदेशमा आत्महत्याका घटनाहरू गम्भीर सामाजिक समस्याका रूपमा स्थापित हुँदै गएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म मधेस प्रदेशभर ४४० वटा आत्महत्याका घटना दर्ता भएका छन्, जसमध्ये रौतहट जिल्लामा मात्रै ५६ वटा घटना दर्ता भएका छन् । यसले रौतहटलाई आत्महत्याको उच्च जोखिममा रहेको जिल्लाको सूचीमा राखेको छ ।
प्रदेश प्रहरीको तथ्याङ्कअनुसार मधेस प्रदेशमा दैनिक औसत ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । जिल्लागत विवरण हेर्दा सर्लाहीमा सबैभन्दा बढी ६४ वटा आत्महत्याका घटना दर्ता भएका छन् भने बारामा सबैभन्दा कम ४४ वटा घटना दर्ता भएका छन्। रौतहटपछि सिरहामा ६३, धनुषामा ६०, महोत्तरीमा ५५, सप्तरी र पर्सामा समान ४९–४९ वटा आत्महत्याका घटना दर्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी रहेको छ । समीक्षा अवधिमा १५९ महिला, १५० पुरुष, २६ बालक र १०५ बालिकाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ। यो तथ्याङ्कले महिलाहरू, किशोरी र बालिकाहरू मानसिक तथा सामाजिक दबाबमा बढी परिरहेको संकेत गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले आत्महत्याको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए । उनका अनुसार प्रदेशमा वार्षिक रूपमा १२ सयदेखि १३ सयसम्म आत्महत्याका घटना हुने गरेको पाइन्छ । “यो केवल प्रहरीको मात्र होइन, समग्र समाजकै गम्भीर चुनौती हो,” उनले भने । प्रवक्ता थापाका अनुसार मानसिक स्वास्थ्य समस्या, आर्थिक अभाव, प्रेम सम्बन्धका विवाद, पारिवारिक कलह तथा सामाजिक सञ्जालका कारण बढ्दो एक्लोपन आत्महत्याका प्रमुख कारण बनेका छन्। विशेषगरी युवा पुस्ता र किशोर–किशोरीहरू बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनु कुमार साहले आत्महत्या न्यूनीकरणका लागि सामुदायिक प्रहरीमार्फत विद्यालय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । उनले अभिभावकहरूले आफ्ना छोराछोरीको गतिविधिमा समय–समयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने, परिवारबाट टाढिँदै जाने र एक्लोपन देखाउने किशोर–किशोरीलाई बेलैमा साथ, सल्लाह र संवाद आवश्यक रहेको उनको भनाइ छ ।
सामाजिक अभियन्ता सुनिल कुमार साहले आत्महत्या न्यूनीकरणका लागि रौतहटसहित मधेसका टोल–टोलमा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। डकुमेन्ट्री प्रदर्शन, अन्तरक्रिया कार्यक्रम र सामुदायिक छलफलमार्फत आम नागरिकलाई सचेत गराउनुपर्ने उनको सुझाव छ । “यो एउटा व्यक्ति वा परिवारको मात्र समस्या होइन, समाजको साझा समस्या हो,” उनले भने ।
अधिवक्ता राजकुमार महासेठले आत्महत्या न्यूनीकरणका लागि पारिवारिक सद्भाव, मेलमिलाप र यथार्थपरक जीवनशैली अपनाउनुपर्नेमा जोड दिए। कामको अत्यधिक तनाव, पारिवारिक दबाब र आर्थिक प्रतिस्पर्धाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ छ । यस्तै, घरेलु हिंसाका घटनाहरू पनि मधेस प्रदेशमा उच्च रहेको देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म प्रदेशभर १ हजार ८०६ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। रौतहटमा १६३ वटा उजुरी दर्ता भएका छन् भने सबैभन्दा बढी बारामा ४०७ र सबैभन्दा कम सप्तरीमा १७ वटा उजुरी दर्ता भएका छन् । प्रहरीका अनुसार घरेलु हिंसाका उजुरीमध्ये ५२ प्रतिशत फछ्र्योट भएको छ। बारामा ७१ प्रतिशत उजुरी फछ्र्योट हुँदा महोत्तरीमा भने मात्र २५ प्रतिशत उजुरी फछ्र्योट भएको तथ्याङ्क छ । विशेषज्ञहरूका अनुसार आत्महत्या र घरेलु हिंसा दुबै सामाजिक, मानसिक र पारिवारिक कारणसँग गाँसिएका समस्या भएकाले यसको न्यूनीकरणका लागि राज्य, समाज, परिवार र व्यक्ति सबैको संयुक्त प्रयास अपरिहार्य छ ।








