रौतहट, १० पुस ।
मधेश प्रदेशका चिनी उद्योगहरूले उखु खरिदमा कथित रूपमा ‘सिन्डिकेट’ खडा गरी किसानलाई अन्याय गरेको आरोप लगाउँदै रौतहटका उखु किसानहरूले आन्दोलनको घोषणा गरेका छन् ।
किसानहरूको आरोप अनुसार रौतहट, बारा, पर्सा र सर्लाहीका चिनी उद्योगहरूले आपसी सहमतिमा आ–आफ्नै जिल्लाभित्रको उखु मात्र खरिद गर्ने निर्णय गरेका छन् । यसले किसानलाई अन्य जिल्लाका चिनी मिलमा उखु बेच्ने अधिकारबाट वञ्चित गर्दै उनीहरूलाई आर्थिक रूपमा पेल्ने काम भएको किसानहरूको भनाइ छ ।
रौतहटमा हाल बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज मात्र सञ्चालनमा रहेकाले किसानहरू एउटै उद्योगमा निर्भर हुन बाध्य भएको गुनासो छ । उद्योगीहरूको स्वार्थप्रेरित निर्णयले किसानको व्यापारिक स्वतन्त्रता कुण्ठित भएको भन्दै किसानहरूले कडा विरोध जनाएका छन् ।
✊ किसान भेलाबाट कडा निर्णय
फतुवा विजयपुर नगरपालिका–९ स्थित विजयपुर बजारमा आयोजित सयौं उखु किसानको भेलाले सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै कडा आन्दोलनको चेतावनी दिएको छ ।
भेलामा नेपाली कांग्रेस नेता ज्ञानेन्द्र प्रसाद यादव, मेयर प्रत्यासी शिवपुजन यादव र वडा अध्यक्ष राकेश यादव (पप्पु यादव) ले किसानहरूको पक्षमा ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
किसानहरूले सिन्डिकेट नहटे सम्म बाबा बैजुनाथ मिललाई उखु बिक्री नगर्ने तथा काटिएको उखु खेतमै राख्ने निर्णयसमेत गरेका छन् ।
⚖️ संघर्ष समिति गठन
भेलाले ज्ञानेन्द्र प्रसाद यादवको अध्यक्षतामा १० सदस्यीय ‘उखु उत्पादक किसान संघर्ष समिति’ गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कुमार शिवाकोटी, सचिवमा राजकरण राय यादव र कोषाध्यक्षमा सुरेश यादव चयन भएका छन् ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने र माग पूरा नभएमा चरणबद्ध आन्दोलन चर्काउने निर्णय सार्वजनिक गरिएको छ ।
किसानहरूले सिन्डिकेट तत्काल खारेज नगरे मधेशभर ठूलो आन्दोलन भड्किने चेतावनी दिँदै आएको संघर्ष अझ तीव्र बन्ने संकेत गरेका छन् ।








