रौतहट । चन्द्रपुर–४ स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्र साकोसका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा चन्द्रपुर नगरपालिका नगर प्रमुख संजय काफ्ले रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा चन्द्रपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष सहदेव केसी, रौतहट बचत संघका अध्यक्ष विभु पोखरेल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य सपूतबहादुर कार्की, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय चन्द्रपुरका सभापति श्रीकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिका रूपमा चन्द्रपुर अस्पताल प्रालिका सञ्चालक डा. सुवास चौधरी, चन्द्रानी अस्पताल प्रालिका सञ्चालक डा. शशि रञ्जन तिवारी, शिवान्त अस्पताल प्रालिका सञ्चालक डा. नवीन सिंह, शिभिल अस्पतालका सञ्चालक राजन साह, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर रौतहटका प्रमुख राजेन्द्र थापा मगर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखाका प्रमुख रुपा थापा, विभिन्न साकोसका अध्यक्षहरू, सुनचाँदी व्यवसायी संघ, क्रिश्चियन समाज, मानव सेवा आश्रम चन्द्रपुर–७ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा साकोसका वरिष्ठ उपाध्यक्ष वासुदेव अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साकोसका उपाध्यक्ष रामशरण गौतमले गर्नुभएको थियो । प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । पहिलो रक्तदाताका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) बासु कार्कीलाई ब्लड ब्याग प्रदान गरी रक्तदान कार्यक्रम शुभारम्भ गरिएको थियो ।
रक्तदान कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर, सशस्त्र प्रहरी बल सन्तपुर, बैंकिङ क्षेत्र, विभिन्न संघ–संस्था तथा आम नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा कुल १२५ पाउन्ड रगत संकलन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउन विभिन्न अस्पताल, व्यापारी–व्यवसायी, शुभेच्छुकहरू, निजी विद्यालय, होटल व्यवसायी, फर्निचर हाउस, नेपाल ल्याब हाउस हेटौंडा लगायतको आर्थिक, जिन्सी तथा प्राविधिक सहयोग रहेको थियो । प्राविधिक सहयोग प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर र चन्द्रपुर अस्पताल प्रालिले प्रदान गरेका थिए ।
कार्यक्रमको समापन सत्रमा साकोसका अध्यक्ष बसन्त आचार्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्राविधिक टोली तथा रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै, प्राविधिक सहयोग प्रदान गर्ने संस्थाका प्रमुख तथा प्राविधिकहरूलाई सम्मानस्वरूप प्रशंसापत्र प्रदान गर्दै बृहत रक्तदान कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।








