रौतहट१६ चैत । रौतहटमा अवैध ‘बोइलर खेल’ फेरि उजागर भएको छ। चोर बाटो हुँदै नेपाल भित्र्याइएका भारतीय कुखुरा बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएपछि सीमावर्ती क्षेत्रमा मौलाउँदै गएको तस्करी धन्धाको अर्को पाटो बाहिरिएको हो।
सोमबार बिहान करिब ६:४० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना.५ च ३५६५ नम्बरको बोलेरो गाडीलाई इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३, गौर–गंगापिपरा सडकखण्डअन्तर्गत मत्सरीबाट समातेको हो। गाडीमा ३५० पिस (झन्डै ७५० केजी) बोइलर कुखुरा लोड गरिएको थियो।
प्रहरीका अनुसार उक्त कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्रि फर्मबाट निकालेर गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो। जिल्ला कुखुरा व्यवसायिक किसान संघ रौतहटको विशेष सुराकीका आधारमा गरिएको कारबाही सफल भएको बताइएको छ।
गाडी चालक गरुडा–९ का २६ वर्षीय अनवारुल हकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ।
यस प्रकरणले भने फेरि पुरानै प्रश्न उठाएको छ—सीमाबाटै कसरी छिर्छ यति ठूलो मात्रामा अवैध कुखुरा?
स्थानीय स्रोतका अनुसार मुस्कान पोल्ट्रि फर्मका सञ्चालक रामप्रवेश साह लामो समयदेखि भारतीय बोइलर कुखुरा तस्करीमा संलग्न रहँदै आएका छन्। सीमापारिबाट चोर नाका प्रयोग गरी कुखुरा भित्र्याएर आफ्नै फर्मको बिलमा ‘वैध’ बनाउने खेल चलिरहेको आरोप छ।
झन् चासोको विषय त के छ भने, सीमा नजिकै कडाइका साथ निगरानी भएको दाबी गरिए पनि यस्ता गाडीहरू करिब २० किलोमिटर भित्रसम्म सहजै पुग्नुले सुरक्षा संयन्त्रमाथि गम्भीर शंका पैदा गरेको छ। स्थानीयले त सिधै आरोप लगाएका छन्—“सेटिङ बिना यस्तो सम्भव छैन।”
नेपाली कुखुरा व्यवसायीहरू भने भारतीय अवैध आयातका कारण दिनप्रतिदिन मारमा पर्दै आएका छन्। लागत बढ्दै जाँदा बजार सस्तो अवैध कुखुराले भरिन थालेपछि उनीहरूको व्यवसाय नै संकटमा पर्ने खतरा बढेको छ।
घटना सामान्य जस्तो देखिए पनि यसले सीमा सुरक्षादेखि स्थानीय प्रशासनसम्मको भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको छ। अब प्रश्न उठेको छ—तस्करी रोक्ने जिम्मा कसको, र कहिलेसम्म यस्तै ‘सेटिङको खेल’ चलिरहने?








