काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएसँगै आन्तरिक शक्ति सन्तुलनको संकेत देखिएको छ। बैठक सञ्चालनको जिम्मा लिएका पूर्णबहादुर खड्का ले आफूलाई केन्द्रमा राख्दै दायाँ–बायाँ शेखर कोइराला र शशांक कोइराला लाई बसालेर बैठक अघि बढाएका छन्।
१४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ जना तथा दुई प्रदेश सभापतिको उपस्थितिमा सुरु भएको भेलालाई ‘असन्तुष्ट पक्ष’को महत्वपूर्ण जमघटका रूपमा हेरिएको छ। विशेष महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरूको सक्रिय सहभागिताले आगामी दिनको आन्तरिक समीकरण कस्तो बन्ने भन्ने संकेत दिएको छ।
बैठकमा मुख्यतः पछिल्लो चुनावी परिणामको समीक्षा र पार्टीको १५औं महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल हुने एजेन्डा राखिएको छ। शेखर कोइराला सभास्थलमा पुगेपछि खड्काले नेताहरूलाई आफ्नो-आफ्नो स्थानमा बस्न आग्रह गर्दै औपचारिक रूपमा बैठक अघि बढाएका थिए।
कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको दूरी अझै घट्न नसकेको अवस्थामा यो बैठकलाई भावी नेतृत्वको ‘टेस्ट केस’का रूपमा समेत हेरिएको छ।








