रौतहट, ८ वैशाख |
मधेश प्रदेश प्रहरी संगठन अहिले आफ्नै आन्तरिक द्वन्द्वको जालोमा फस्दै गएको छ। संगठनभित्रै गम्भीर आरोप–प्रत्यारोप, गुटबन्दी र ‘सेटिङ राजनीति’ चर्किँदै जाँदा प्रहरीको छवि थप धुमिल बन्ने संकेत देखिएको छ।
सीमापार तस्करीसँग जोडिएका व्यापारीहरूसँगको कथित साँठगाँठ सार्वजनिक हुने डरले संगठनभित्रै ‘बलिको बोको’ खोज्ने खेल सुरु भएको आरोप बाहिरिएको छ। उच्च तहका अधिकारीहरू जोगिन कनिष्ठ कर्मचारीलाई कारवाहीको पासो थमाउने पुरानै शैली दोहोरिएको भन्दै प्रहरी वृत्तमै असन्तुष्टि उकालो लागेको छ।
जनकपुर क्षेत्रका कुख्यात तस्कर राजिव महासेठसँगको सम्बन्ध बाहिरिने त्रास बढेपछि वरिष्ठ सई सागर शम्शेर राणामाथि योजनाबद्ध रूपमा कारवाही अघि बढाइएको स्रोतहरूको दाबी छ। जानकी चौकी हुँदै धनुषा प्रहरीको क्राइम शाखामा सक्रिय रहेका राणालाई ‘निसाना’ बनाएर संगठनभित्रै शक्ति संघर्ष छताछुल्ल भएको चर्चा छ।
डिआइजी गोविन्द थपलियाका विश्वासपात्र मानिएका वरिष्ठ सई जयलाल यादव र गोपाल थापा मगरले विभिन्न जालझेल र प्रपञ्च रच्दै राणालाई विवादमा तान्न खोजेको आरोपले घटनालाई अझ पेचिलो बनाएको छ। करिब एक महिनाअघि महासेठको अवैध मालसामान बरामद भएपछि उत्पन्न असन्तुष्टि नै अहिलेको ‘प्रतिशोध राजनीति’ को जरो भएको बताइन्छ।
यता सार्वजनिक अडियो संवादले आगोमा घिउ थप्ने काम गरेको छ। उक्त अडियोमा राणाले आफूविरुद्ध षड्यन्त्र भइरहेको, कुनै तस्करसँग साँठगाँठ नरहेको र प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको दाबी गरेका छन्। तर, अडियो बाहिरिएलगत्तै प्रदेश प्रहरी कार्यालयले विभागीय कारवाही सिफारिस गरेपछि संगठनभित्रको खिचातानी सतहमा आएको छ।
अर्कोतर्फ, ‘पावर सेन्टर’ नजिक रहेका केही प्रहरी अधिकारीमाथि नै अवैध असुली, काजमा बसेर प्रभाव विस्तार र रकम संकलनजस्ता गम्भीर आरोप लागेका छन्। पर्सामा दरबन्दी भए पनि सिरहामा काज मिलाएर सक्रिय रहेको आरोप लागेका जयलाल यादवदेखि लिएर गोपाल थापा मगरसम्मको नाम विवादमा तानिएको छ।
झन् चासोको विषय के भने—मगरलाई प्रहरी प्रधान कार्यालयबाट तानेर केही दिनमै ‘प्रभाव’ कै भरमा पुनः जनकपुर फर्काइएको दाबीले संगठनभित्र पहुँच र शक्तिको खेल कति बलियो छ भन्ने देखाउँछ।
पूर्व प्रहरी अधिकारीहरूको भनाइ झनै गम्भीर छ—“ठूलाबडाको आर्थिक चलखेल लुकाउन साना कर्मचारीलाई कारवाही गर्ने प्रवृत्ति पुरानै रोग हो।” सर्लाहीदेखि जनकपुरसम्म नियमित ‘लाइन’ मार्फत रकम उठ्ने गरेको आरोपले त झन् प्रहरी संगठनमाथि जनविश्वास नै खस्काउने संकेत दिएको छ।
यसैबीच, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी थपलियाले भने आफूलाई अनावश्यक रूपमा बदनाम गर्न खोजिएको दाबी गर्दै अनुशासन कायम राख्न कारवाही सिफारिस गरिएको बताएका छन्। तर, उनीमाथि समेत विगतदेखि नै तस्करसँग साँठगाँठ रहेको आरोप दोहोरिँदा प्रश्नहरू झन् गहिरिएका छन्।








