रौतहट, १० मंसिर । नेकपा (एमाले)को १० औं महाधिवेशनमा प्रदेश २ बाट प्रभु साह र रघुवीर महासेठ प्रतिस्पर्धामा उत्रिन लागेका छन् । नेकपा (माओवादी केन्द्र)बाट आएका रौतहटका साह र एमालेमा ओली निकट रहेका धनुषाका महासेठ प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । दुवै जनाले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। दुवैले महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न कसरत थालेका छन् ।
प्रदेश २ मा माओवादीबाट एमालेमा आएका नेतालाई केन्द्रीय पदमा प्रतिस्पर्धा गर्न चुनौती देखिएको छ । यसैबीच नेता साहले भने सचिवमा उम्मेदवारी दिने तयारी गरेको बताए । अहिलेसम्म ओली समूहमा रहेका नेताले उम्मेदवारीका विषयमा सार्वजनिक घोषणा गरेका छैनन्। तर, उनीहरू भित्रभित्रै तयारीमा जुटेका छन् । माओवादीबाट आएका साहले सचिवमा उम्मेदवारी दिने भएपछि एमाले पूर्व मन्त्री महासेठ पनि त्यसकै तयारीमा जुटेका छन्। उनी महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेको एक नेताले बताए ।
एमालेमा वामदेव गौतम निकट रहेर राजनीति गरेका महासेठ पछिल्लो समय केपी शर्मा ओली पक्षमा लागेका छन् । जसले गर्दा उनी ओली सरकारमा परराष्ट्र मन्त्री पनि भएका थिए । २०५९ सालको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी आठौं महाधिवेशनमा भने पराजित भएका थिए। २०७१ को नवौं महाधिवेशनमा पनि उनी सचिवमा पराजित भएका थिए । यस पटक पनि सचिवमै उम्मेदवारी दिने तयारीमा छन् । प्रदेश २ को नेतृत्वका विषयमा माओवादीबाट आएका साहसँग उनको प्रतिस्पर्धा रहेको छ । उनीहरूसँगै अन्य केही नेता पनि सचिवका लागि आकाङ्क्षी देखिएका छन्। स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र सुमन प्याकुरेल पनि सचिवमा उम्मेदवारी दिने तयारीमा लागेको एक नेताले बताए । त्यस्तै, केन्द्रीय सदस्यमा पनि थुप्रै नेताले उम्मेदवारी दिने तयारी गरेका छन्। जसमा जुली महतो, हरिनारायण महतो, उत्तम गौतम, दीपबहादुर बलमपाकी, सुबोध यादव, रामदयाल मण्डल, लीलानाथ श्रेष्ठ, राजनारायण साह, बलवीर चौधरी, प्रभु हजरा, रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, बसरुद्दीन अन्सारी लगायत छन् । एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ । त्यसका लागि प्रदेश २ बाट २३२ प्रतिनिधि छनोट भएका छन् । एमाले प्रदेश २ का सचिव मनोज खड्काका अनुसार पर्साबाट २७, बाराबाट ३८ , रौतहटबाट २७, धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिराहाबाट २२ र सप्तरीबाट २० जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, प्रदेश कमिटीले पाँच जनालाई मनोनीत गरेको छ भने भने मजदूरबाट सात जना छनोट भएका छन् ।








