बृन्दावन, २० मंसिर।
रौतहटको वन अतिक्रमण तिब्र रुपमा बढेको भएपनि सम्बन्धीत निकायकारीले त्यस तर्फ चासो नदिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । जिल्लाको विभिन्न वन क्षेत्रमा वन अतिक्रमण बढेको स्थानिय वासिन्दाहरु बताउँछन् ।
जिल्लाको बृन्दावन नगरपालिका वाड नं–१ को बलेरीमा जंगल अतिक्रण गरेर घर बनाउने क्रम बढेको हो । केही बर्ष पहिला सुकुम्बासीको नाममा जंगल फंडानी गरेर भोटे टोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको हो ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको बलेरीमा रहेको वन कार्यलयका कर्मचारीको मिलेमतोमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको स्थानीयले जानकारी दिएका छन् । केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर बृक्षरोपण गरेको स्थानमा धमाधम घर बनाउँदा समेत सम्बन्धीत निकायले कुनै वास्ता नगरेको स्थानीय बासिन्दा नागेन्द्र राउत कुर्मीको गुनासो गरे ।
राउतले भने, वन फँडानी गरेर बलेरीका ठुला बडाहरुले नै पक्की घर निर्माण गरेको छ, त्यसको लागी नियमकारी छैन ? उनले भने, यो सव वनकै कर्मचारीहरुका कारण वन बिनाश भइरहेको छ । भिडिजन वन कार्यालयको मौनताका कारण बलेरीमा वन फंडानी गरेर यस वर्ष मात्र एक दर्जन भन्दा बढी नयाँ घर निर्माण भएको छ ।
जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घर टहरा बनाउने क्रम रोकिन सकेको छैन । सुकुम्बासीको नाममा बिभिन्न स्थानमा जग्गा जमिन भएकाहरुले समेत जंगलमा घर टहरा बनाउने क्रम रोकिन सकेको छैन । वन अतिक्रमण किन रोकिएन भनेर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवसंग बुझन खोज्दा उहांसंग फोन सम्पर्क हुन सकेन ।
राजनितिक दलको संरक्षणका कारण अतिक्रमण वनको जमिन खाली गराउन समस्या भएको वन कार्यालय स्रोतबाट बुझिएको छ ।
स्रोतका अनुसार बलेरीमा भएको वन अतिक्रमणको जग्गा खाली गराउन डिभिजन वन कार्यालयले कयौं पटक प्रयास गरेको र राजनितिक दलको संरक्षणका कारण वन कार्यालयको प्रयास असफल हुने गरेको छ । वन अतिक्रमण गरेर वसोबाँस गर्दै आएकाहरुले पहिला बस्ने ठाउँबाट बसाईसराई समेत गराउन थालेको छ । पहाडबाट आएर वन अतिक्रमण गरेर तामाङ समुदायिहरु बस्न थालेपछि पछिल्लो समय मधेशी समुदायीका मानिसहरुले पनि वन अतिक्रमण नै गरेर बसोबाँस गर्न थालेका छन् । वन अतिक्रमण गरेर बस्नेहरुले काठ समेत तस्करी गर्ने गरेको बलेरीका स्थानिय वासिन्दाहरुले बताएका छन् । वन अतिक्रमण गरेर बस्नेहरुको मुख्य उद्देश्यनै काठ तस्करी गर्ने हुन्छ ।








