वीरगंज,८ पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका हुन् । जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो, अध्यक्ष ओलीको दावी छ । उनले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नया जनादेशको कुरा गर्ने गरेको बताए । गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिदै उनले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप पनि लगाए ।
गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लगेको छ, ओलीको भनाइ छ ।
विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको भन्दै उनले एमालेकै पालामा जेष्ठ नागरिकहरुको हेरविचार र सम्मान गर्ने योजनाअनुसार ५१ सालबाट एक सयका दरले जेष्ठ नागरिक भत्ता दिन सुरु गरेर आज मासिक ४ हजार रुपैया घरमै पुग्ने गरेको ओलीको दावी छ ।