कटहरिया,२१ माघ ।
जथाभावी बालुवा उत्खननको कारण रौतहटको उत्तरीभेग गर्जाघाट स्थित लालबकैया नदिको पुल भासिने जोखिम बढ्दै गएको छ । मापदण्ड बिपरित ठेकदारले पुल नजिकैबाट दैनिक सैयौं ट्याक्टर बालुवा उत्खनन गरिरहेकाले करोडौंको लगानीमा बनेको गर्जाघाटको पुल भासिने जोखिम बढेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् ।
यसरी जथाभावी रूपमा पुलको छेउ बाट खनेर एकाबिहानै देखि बेलुकी सम्म बालुवा ढुवानी गर्दा पनि जनप्रतिनिधि, स्थानीय प्रहरी तथा नियमनकारी निकाय मौन बसेका कारण पुल भासिने खतरा बढदै जान थालेको गाउलेहरुको भनाइ रहेको छ । कुनै पनि भौतिक संरचनाको ५०० मिटर भित्र उत्खनन गर्न नपाईने राज्यले कानुनी ब्यवस्था गरेको छ । तर जिल्ला समन्वय समितिका पदाधिकारी तथा गुजरा नगरपालिकाका जनप्रतिनिधिहरुको लापरबाहीले गर्जा घाट लालबकैया पुललाई क्षतु हुनेगरी ठेकदारले बालुवा ढुवानी गराईरहेको स्थानीयहरुले गुनासो गरेका छन ।
केहीबर्ष अघि बिजयकुमार गच्छदार भौतिक पुर्वाधार मन्त्री हुंदा तत्कालीन संघीय सांसद गोविन्द चौधरीको पहलमा १० करोड बढीको लगानीमा गर्जा पुलको निर्माण भएको पुर्व गाविस अध्यक्ष रामनारायण चौधरीले कटहरिया एफएम लाई जानकारी दिनु भयो । गर्जा पुल निर्माण पछि रौतहटको उत्तरीभेग र बाराको दर्जनौं गाउका मानिसलाई आउनजान सहजहुनुका साथै सो क्षेत्रको विकासमा प्रत्येक्ष टेवा पुगेको छ । सोही पुललाई जोखिममा पारेर ठेकदारहरुले बर्षेणी बालुवा उत्खनन तथा ढुवानी गर्दा जनप्रतिनिधि,स्थानीय प्रहरी तथा नियमनकारी निकायले त्यस्ता ठेकदारलाई कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्ने गर्जा,जंगलसहियाका गाउँलेहरुको माग रहेको छ । २०७८ माघ २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।