चन्द्रपुर,८ फागुन ।
राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीको आयोजना चन्द्रनिगाहपुरमा फागुन ८ गते आइतबार वृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ । प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्रबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना हुन गइरहेको राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीका अध्यक्ष बिक्रम लामाले बताए । रगत जीवनको एक अमूल्य र अपरिहार्य तत्व हो, रगत बिना जीवन कल्पना गर्न पनि सकिदैन ।
कोभिड १९ को जोखिमले पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसक्दा आज बिभिन्न रोगका कारण तत्कालै शल्यक्रिया गर्नु पर्ने विरामीहरु, प्रसुति गराउनु पर्ने महिलाहरु अस्पतालका शैयाहरुमा रगतको अभावले तत्काल उपचार पाउन नसकिरहेको अवस्था रहेको छ । तीनै विरामीहरुको जीवन रक्षाका लागि रगत संकलन गरि जीवनदान दिने उद्देश्यले मेरो रक्तदान अरुको जीवनदान भन्ने नाराका साथ वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताए ।
२०० जना रक्तदाताबाट रक्त संकलन गर्ने लक्ष राखिएको उक्त वृहत रक्तदान कार्यक्रममा राष्ट्रिय युवा संघका सदस्यहरुले स्थानीय रक्तदाताहरुलाई रक्तदान गर्न आह्वान गरेका छन ।








