गौर,२६ चैत । माधव नारायण नगरपालिकामा लोसपा जिल्ला कमिटी सदस्य सहित विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् । सो नगरपालिका वडा नम्बर ७ लौकहा फुलबारीया आयोजित एक कार्यक्रममा लोसपा पार्टीका जिल्ला कमिटी सदस्य दिनेश साह सहित मुकेस मंडल, इन्द्रजित सहनी लगायत सयौंको संख्यामा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नेकपा माधवनारायण नगरपालिका उपसचिव सुवह साहेब पासवानले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साहले पार्टीमा स्वागत गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य साहले नेकपा एमाले मात्र देश र जनताको हितमा काम गर्ने पार्टी भ‌एकाले अरु पार्टीमा रहेका इमान्दार, देशप्रेमी कार्यकर्ताले नेकपा एमालेलाईनै रोज्न थालेको जिकिर गर्नुभयो । उहाँले अहिले गठबन्धनको नाममा पाँच दलले देशलाई लुटेर कंगाल बनाइरहेको आरोप लगाउँदै देश जोगाउन तीनै तहमा नेकपा एमालेको सरकार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । स्थानीय तहमा ठोस योजना सहित ठोस विकास हुनुपर्नेमा माधवनारायण नगरपालिकामा नगरप्रमुखले वजेट सक्ने तर काम नगर्ने गरेकाले विकास हुन नसकेको उहाँको आरोप छ । उहाँले माधवनारायणमा रोकिएको विकासको गाडी नेकपा एमालेले बैशाख ३० पछि नेतृत्व लिएपछि दौड्ने दावी गर्नुभयो । सो कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य रामनाथ माझी ज्यु र माधव नारायण नगरपालिकाका नगर कमिटी अध्यक्ष उपेन्द्र साह लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।