चन्द्रपुर,१९ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस प्रदेशमा आफ्नो पार्टीको दरिलो उपस्थिति रहने बताएका छन् ।
आफ्ना पार्टीका उम्मेदवारहरुलाई मत माग्न अध्यक्ष नेपाल आईतबार राजधानी काठमाडौबाट मधेस झरेका हुन् ।चुनावी अभियानको शिलशिलामा नेता नेपालले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा घरदैलो कार्यक्रम सहभागिता पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको पक्षमा चुनावी महौल बन्दै गएको बताए । चन्द्रपुरमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, स्वस्थ पिउने पानी र स्वरोजगारी सिर्जना गर्नको लागि नेकपा एसका उम्मेदवारहरुलाई जिताउन आह्वान गरे । चन्द्रपुरमा बाबुराम दाहाल जस्ता भिजन भएका योग्य युवा उम्मेदवारलाई मेयर पदमा उतारेका छौं, पक्कैपनि आफ्नो गाउठाउको विकास र समृद्धिका लागि यहाँहरुले मत दिएर जिताउनु हुनेछ–नेता नेपालले मतदाताहरुलाई अनुरोध गर्दै भने ।
घरदैलो कार्यक्रममा मेयर पदका उम्मेदवार दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी, नेकपा एमालेका केन्द्रीय नेता संबिधान सभा सदस्य रामकुमार भट्टराई, चन्द्रपुर ८ नम्बर वडाका अध्यक्ष र सदस्यका उम्मेदवारसहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पूर्व प्रधानमन्त्री नेपालले आईतबारनै रौतहटको गरुडा नगरपालिकामा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।
गरुडामा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता रामजी साह सोनार सहितका नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेस गरेका थिए । नेकपा एमालेबाट गरुडा नगरपालिकाको मेयरमा टिकट नपाएपछि सोनार नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेस गरेका हुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल केही दिन गृह जिल्ला रौतहट बसेर आफ्ना पार्टीका उम्मेदवारका पक्षमा मत माग्ने कार्यक्रम रहेको सो पार्टीका स्थानीय नेताहरुले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।