ओम प्रकाश यादव
गरुडा,३ भदौ । नेपाल विद्युत प्राधिकरणको कर्मचारीको चरम लापरवाहीका कारण रौतहटका विद्युत उपभोग गर्ने उपभोक्ताहरु मारमा परेका छन् ।
देश लोडसेडिङ मुक्त घोष्णा भइसक्दा पनि जिल्लाको माधोपुर, गरुडा, पिपरा, गौर सहित अन्य क्षेत्रमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दाहरु हैरान भएका छन् ।
विगत दुई दिनदेखी केही छिन आउने र केही छिनमै कटौती हुने विद्युतको समस्याका कारण जिल्लाको पुर्वी र दक्षिणी भेग सहित अन्य क्षेत्रका स्थानीय बासिन्दाहरु हैरान भएका हुन् ।
खास गरी रातीको समय दर्जनौपटक छिन छिनमै १० मिनेटदेखी आधीघण्टा, एकघण्टासम्म विद्युत अवरुद्ध हुने गरेको कारण चर्को गर्मीले स्थानीय बासिन्दा राम्ररी सुत्न पाइरहेका छैनन् ।
हरेक दिन १५ पटकभन्दा बढी विद्युत काटिने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी मात्र नभई आम सर्वसाधारण समेत आजित बनेका हुन ।
झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ ।
छिनछिनमै बिजुली आउने र जाने समस्याले आफुहरु पिडित बनेको भन्दै सेवाग्राहीहरुले चुस्तदुरुस्त सेवा उपलव्ध गराउन विद्युत प्राधिकरणसँग माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण कार्यालय गौरका प्रमुख विजय महताले अहिले अत्याधिक मात्रामा गर्मी बढेको र किसानहरु धानबालीमा पानी लगाउन विद्युतीय मोटर प्रयोग गरी हुकिङ्ग गर्ने गरेको कारण ओभरलोड भई विजुली आफै अवरुद्ध हुने गरेको बताएका छन् ।
किसानहरुले खासगरी रातीको समय विद्युतिय मोटरबाट खेतमा पानी लगाउन चोरी गरी जथाभावी रुपमा विद्युतको नाङ्गो तारमा हुकिङ्ग गर्ने गरेको कारण ओभरलोड भएर छिनछिनमै बत्ति आफै जाने गरेकोले यसमा आफुहरुको कुनै दोष नरहेको प्राधिकरण कार्यालयका प्रमुख महतोले बताए ।
केही किसानहरुले गर्ने गरेको यस्ता गल्तीका कारण लाखौ उपभोक्ताहरु नियमित विजुली नपाएर समस्या भोगिरहेको बताउँदै उनले हुकिङ्ग गरी विद्युतिय मोटर कसैलाई पनि प्रयोग नगर्न सबैलाई आग्रह गरे ।
जथाभावी हुकिङ्ग गरी विद्युत चोरी गर्नेहरुमाथी आफुहरु निगरानी बढाएको र कसैले हुकिङ्ग गरी विद्युत चोरी गरेको फेला परे कडा कार्यवाही गर्ने उनले चेतावनी दिए ।








