रौतहट,२५ पुस । रोजगारीको शिलशिलामा मलेसियामा रहेका रौतहटका एक युवक माथि कुटपिट भएको समाचार बाहिर आएको छ । काठमाडौंको खोजी रिक्वायरमेन्टबाट ४ महिनाअघि मलेसिया पुगेका उनीहरुमध्ये रौतहटका हिरालाल राउतलाई हङ टिज चिकेन सप्लायर्स कम्पनीका सञ्चालकबाट अभद्र व्यवहार र कुटपिट भएको थियो । त्यसअघि पनि फरक–फरक श्रमिकले यस्तो यातना सहेकाले उनीहरु सबै एकजुट भएर त्यस्तो हर्कतविरुद्ध बोलेका थिए ।
मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन–रात बिताइरहेका छन् ।
ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा बाहिर ननिस्कन भनेको अनलाईन खबरमा समाचार छ ।