गौर,२७ माघ ।
प्रहरी बिरुद्ध रौतहटका व्यापारीले तीन दिन बजार बन्द गर्ने भएकाछन् ।
रौतहट प्रहरीले आफै तस्करी गराएर समान भन्सार नकटाई छिराउन दिने र पछि आफैले छापा मारेर समान बरामद गर्न थालेपछि स्थानीय व्यापारी प्रहरीका बिरुद्ध बजार बन्द गराउन बाध्य भएका हुन ।
बिगत केहीदिन देखी रौतहट प्रहरीले बजार अनुगमनको नाममा धमाधम गोदामबाट समान बरामद गर्दै भन्सार बुझाउन थालेपछि आफुहरु बाध्य भएर बजार बन्द गर्ने सम्मको निर्णयमा पुगेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित जयसवालले जानकारी दिए ।
भारतबाट तस्करी गरेर ल्याइएका अधिकांश समानहरू प्रहरीकै मिलेमतोमा नाका प्रवेश गर्ने गरेको खुलेको छ । रौतहटका सिमावर्ती क्षेत्रमा प्रहरीकै घुमुवाको मिलेमतोमा समान नेपाल आँउने र पछि प्रहरी आफै गोदाम छापामारी गरेर समान भन्सार बुझाउन काम गर्न थालेपछि रौतहटका व्यापारीले बजार बन्द गर्ने निर्णय गरेका हुन ।
नेपाल भारत सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरूले भारतबाट मिलेमतोमा तस्करी गरेर ल्याइएका समानहरू सहजै नाकाबाट छिर्न दिने, र सोही सामानहरू छापा मारेर बरामद गरेको जस्तो नाटक गर्ने काम प्रहरीले गर्ने गरेको गौरका एक व्यापारीले बताए । प्रहरीले तस्करहरूद्वारा नेपाल निर्यात तस्करीका समानहरू सहजै प्रवेश गराउने त्यसपछि तस्करहरूले उक्त समानहरू गोदाम लगेर राखेपछि प्रहरीले छापा मारेर ती समान बरामद गरेर कारबाहीका लागि पठाउने गरेको पाइएको पाईन्छ । बैंकको बढदो व्याजदर प्रहरीले दिने हैरानीका बिरुद्ध आफुहरुले अत्यावस्यक बाहेकका समान नबेचेर बजार बन्द गर्ने निर्णय गरेको रौतहट उद्योग बाणिज्य संघका महाँसचिव रबिन्द्रनाथ गोपलीले बताए । व्यावसायीक बताबरणनै रौतहट प्रहरीले बिगारेका कारण आफुहरु बजार बन्द गर्न बाध्य भएको गोपालीको भनाइ रहेको छ ।
महादेवपटी र गौर भन्सारमा रहेको प्रहरी चौकीले भारतबाट व्यापक मात्रामा चामल तथा गहुँ तस्करी गराउने गरेको पाइएको छ । सर्वसाधारणले एक दुई बोरा चामल ल्याउँदा अनेकौँ दुःख दिने यी चौकीहरूले तस्करहरूसँग भने मिलेमतोमा सयौँ बोरा चामल तथा गहुँ तस्करी गराउने गरेका छन् । र तिनै सयौँ चामल र गहुँको बोरा प्रहरीले नै गौरका विभिन्न ठाउँहरूबाट बरामद गर्दै कारबाहीका लागि सम्बन्धित निकाय पठाउन थालेपछि प्रहरीले तस्करी गराउने र आफै छापामारी गर्ने दोहोरो भूमिका खेलेको आरोप जिल्लावासीहरूले लागाउन थालेका हुन् ।
गौरमा भएको भेला पछि रौतहट उद्योग बाणिज्य संघले बजार बन्द गर्ने निर्णय गरेको हो । रौतहटका खुल्ला सिमाबाट तस्करी गराउने संग रकम असुल्नका जिल्ला प्रहरी कार्यालय रौतहटले आधा दर्जन घुमुवा प्रहरी परिचालन गरेरको छ । पछिल्लो समय रौतहट प्रहरीले सबै व्यापारीलाई तस्करको नजरले हर्न थालेपछि उद्योग बाणिज्य संघ रौतहट प्रहरी बिरुद्ध बजार बन्द गर्न बाध्य भएको व्यापारीहरुको भनाइ रहेको छ । २०७९ माघ २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।