चन्द्रपुर,१ फागुन । वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीका आफन्तले १६ वर्षिय बालकमाथि आक्रमण गरेका छन् । आइतबार दिउँसो वृन्दावन नगरपालिका वडा नम्बर ३ बस्ने १६ वर्षिय चन्दन कुमार यादवलाई नगर प्रमुख कुर्मीका छोरा÷भतिजा तथा आफन्तहरु मिलेर हर्षाहा चोकमा ज्यान लिने उद्धेश्यले कुटपिट गरेको यादवका बुबा प्रेम शंकर यादवले जानकारी दिए । यादवका अनुसार चन्द्रपुर १० मा रहेका एभरग्रीन माविका कक्षा १० मा अध्ययनरता चन्दनलाई विद्यालयमै पुगेर दुइजना अपरिचित व्यक्तिहरुले ‘तिमीलाई तिम्रो बुबाले भेट्न बोलाउनु भएको छ’ भन्दै विद्यालयबाट मोटरसाइकलमा चढाएर हर्षाहा चोकमा ल्याएर ठुलो समुहमा बसेका नगर प्रमुख कुर्मीका आफन्तहरुले ज्यान लिने उद्धेश्यले साङ्घासतिक आक्रमण गरेका हुन् । आक्रमणमा परेका चन्दनलाई चोकमा ड्युटिमा खटिएका प्रहरीले उद्धार गरेर घर पु¥याएको थियो । ‘प्रहरी नभएको भए त मेरो छोरालाई उनीहरुले मार्ने रहेछन्’ यादवले भने, ‘योजनावद्ध तरिकाले छोराको ज्यानै लिने तरिकाले कुर्मीका छोरा÷भतिजाहरुले आक्रमण गरेका छन् । बिचारा, त्यो अवोध बालकको के दोष थियोे र आक्रमण गरेका?’ उनले आक्रमणकारी तथा योजनकार नगर प्रमुख कुर्मी र उनका आफन्तहरुलाई कडा कारवाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेका छन् । नेकपा एमालेका क्षेत्रिय संयोजक तथा नगर प्रमुखको प्रत्यासी समेत रहेका यादवले नगर प्रमुख कुर्मीले वृन्दावनमा गुण्डाराज चलाउन खोजेको भन्दै अतिभए गुन्डाराजको अन्त्य स्थानियले कडा प्रतिकार गरेर गर्ने चेतावनी दिए । बागमती नदीमा आफन्तहरु मार्फत अमानतको रसिद काटेर लाखौ रकम हिनामिना गरेको भन्दै शुक्रबार यादव सहित अन्य चार दलका नेता तथा स्थानियहरु रमौली घाटमा रहेको कर उठाउने घर तोडफोड गर्दै नदी उत्खनन रोकेका थिए । तर नगर प्रमुख कुर्मी शनिबार पुनः छोरा÷भतिजालाई पठाएर उत्खनन् सुरु गरेपछि स्थानिय प्रतिकारमा उत्रिएका थिए । सोही क्रममा नगर प्रमुखका आफन्त र स्थानिय बीच झडप हुँदा दुबै पक्षका केही व्यक्तिहरु घाइते भएका थिए । सोही घटनालाई लिएर नगर प्रमुख कुर्मीको टोली यादव सवार गाडीलाई आइतबार हर्षाहा चोकमा ढुंगामुढा गरेर यादव माथि पनि आक्रमणको प्रयास गरेका थिए । भ्रष्टचारमा लिप्त नगर प्रमुख कुर्मी स्थानियको विरोध पछि छट्पटाएर दादागिरी र गुन्डागर्दीमा उत्रिएको नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा पूर्व नगर प्रमुख रामस्नेही यादवले बताए । उनले अवोध बालकमाथि आक्रमण गर्नेहरुमाथि कडा कारवाहीको माग गर्दै नगरपालिकामा भएका भ्रष्टचारको एकएक भण्डाफोर गर्ने बताए । विद्यार्थीलाई विद्यालयबाट अपहरण शैलीमा लगेर गरिएको सामुहिक आक्रमणको नेपाल विद्यार्थी संघ, अनेरास्वियु लगायत विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन् ।








