अशोक पहाडी
चन्द्रपुर,६ फागुन ।
मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रौतहटको चन्द्रपुर नगरपालिकामा बिस बिस लाखका ११ वटा बिकासे योजना पठाएको छ । ती योजनाको चिठी भने स्थानीय केही मान्छे हातमा परेको छ ।
मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्रालय अन्र्तगतको सामाजिक विकास ईकाई कार्यालय मलंगवा सर्लाहीले चन्द्रपुर नगरपालिकाको बिभिन्न वडामा बिभिन्न शिर्षकको योजनाको पत्र लिएर केही मान्छे उपभोक्ता समिति बनाउदै हिडेकाछन् । सो योजनाको बिषयमा प्रदेशसभा सदस्य ,नगरपालिका र सम्बन्धीत वडालाई समेत जानकारी नभएको भएपनि बिभिन्न वडामा उपभोक्ता समिति बनाउने काम सुरु भएको छ । प्रदेश सरकारको बिस लाखे योजना उपभोक्ता समिति बनाएर बिक्रि बितरण गर्न रौतहट जिल्लाका केही मान्छे सक्रिय रहेको तथ्य फेला परेको छ ।
चन्द्रपुर नगरपालिकाको वडानं ८ मा रौतहट दलित भवन बनाउनका लागि प्रदेश सरकार २० लाख बिनियोजन गरेर पत्र ल्याउनेले उपभोक्ता समिति बनाउन खोजिरहेको भएपनि सो बिषयमा वडा अध्यक्षलाई कुनै जानकारीनै छैन् । ८ नम्बर वडाका अध्यक्ष जितेन्द्र चौधरीले रौतहट दलित भवन कहाँ बन्ने र कस्ले पैसा दियो भन्ने बिषयमा आफुलाई कुनै जानकारीनै नभएको तराई एक्सप्रेसलाई बताए ।
चन्द्रपुर ६ मा रहेको आँखा तथा दाँत उपचार केन्द्रको भवन मर्मतका लागि २० लागि रुपैया बिनियोजन भएको भएपनि चन्द्रपुर ६ मा आँखा तथा दाँत उपचार केन्द्रको भवननै छैन् । सामाजिक विकास ईकाई कार्यालय सर्लाहीबाट योजनाको चिठी बोकेर आँउनेहरुले उपभोक्ता समिति बनाएर समिति मार्फत कमिशन लिने काम भएको जानकारहरुको भनाइ रहेको छ ।
सो कार्यालय मार्फत चन्द्रपुर १ मा मंगलपुर सामुदायीक भवन निर्माणका लागि २० लाख ,वडानं ६ मा सामुदायीक भवन निर्माणका लागि २० लाख ,वडानं ४ मा रौतहट सामुदायीक भवन निर्माणका लागि २० लाख वडानं ७ मा रौतहट दलित भवन निर्माणका लागि २० लाख वडानं ९ मा बर्थिङ सेन्टरको भवन निर्माणका लागि २० लाख ,वडानं १० मा रौतहट सामुदायीक भवन निर्माणको लागि २० लाख ,वडानं १ मै रौतहट गोलमराजा बौद बिहार सौन्दर्य करणका लागि २० लाख र वडानं ६ मा आधारभुत विद्यालय बेल्डीको भवन निर्माणका लागि २० लाख रुपैया बिनियोजन भएको छ ।
यी विकासे योजनाको पत्र बोकेर आँउनेहरुले आफुहरुले उपभोक्ता समिति बनाई सकेको र तपाँईले सही मात्र गरिदिनु परो भन्दै चन्द्रपुरका वडाअध्यक्षको घरमै पुग्ने गरेकाछन् ।
सामाजिक विकास ईकाई कार्यालय मलंगवाको विकासे योजनाको पत्र लिएर आफुले उपभोक्ता समिति बनाई सकेको र रोहबर सही मात्र गरिदिनु भन्दै केही मान्छे आफ्नो घरमा आएको चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसीले तराई एक्सप्रेसलाई बताए ।
उपभोक्ता समितिसंग पहिलानै सेटिङ मिलाएर चिठी ल्याए वापतको कमिशनको कुरा छिनो फानो गरेर एक समुह यतीबेला वडा अध्यक्षहरुलाई रोहवरमा सही गराउनका लागि घर घर धाँउन थालेकाछन् ।
कहाँ के बिकासे योजनाको खाँचो छ त्यस तर्फ स्थानीयसंग बुझेर योजना दिनुपर्नेमा त्यसो नभएको बिषयमा आफुले सदनमा कुरा उठाउने रौतहट क्षेत्रनं ४ क प्रदेशसभा सदस्य युवराज भट्टराईले बताए । २०७९ फागुन ३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।