चन्द्रपुर,२६ फागुन । हरेक बर्षको गर्मीयामको सरुवातसंगै रौतहटको वनमा जंगली जनवरको सिकार गर्ने समुह सक्रिय हुने गरेको छ । रौतहटमा बन्यजन्तुको चोरी सिकारमा राजनितिमा पहुंचवाल देखी सर्बसाधारण सम्मको सहभागिता रहने गरेको छ ।
केही दिन पहिला जिल्लाको रामलाल बृन्दावन साझेवारी वन क्षेत्रमा बंदेलको सिकार गर्न गएकाहरुले थापेको पासोमा बाघ परेर मरेको हल्ला सेलाउन पाएको छैन ।
डिभिजन वन कार्यालय दुई हप्ता देखी मृत बाघ कहाँ गाडेको छ भनेर खोजी कार्यमा सक्रिय रहेको छ । तर फेला पार्न सकेको छैन् ।
सो दिन सन्तपुर, बेतौना ,मोतीपुर लगाएतका स्थानबाट स्थानीयहरु सिकार खेल्न सो वनमा गएका थिए । डिभिजन वन कार्यालयका कर्मचारीले नियमित रुपमा वनमा गस्ति नगरेका कारण एकहप्ता पहिला बृन्दावन नगरपालिकाको बलेरीमा स्थानीयले एउटा जंगली बंदेल पासोमा पारेर मारेका थिए । स्थानीयका अनुसार एक राजनैतिक दलका नेताकै संलग्नतामा सो स्थानमा जंगली बंदेललाई पासोमा पारेर मारिएको थियो । वन क्षेत्रमा पर्ने बलेरी देखी चाँदी खेलाको सिर सम्म यतीबेला जंगल छेउका गाँउमा बदेल आँउने भएका कारण पासो र टोटा बन्दुक सहित सिकारी सक्रिय भएर बस्दै आएको स्थानीय बासिन्दाले बताए । जिल्लाको विभिन्न वनबाट काठ तस्करी तथा चोरी सिकारी बढेको स्थानिय वासिन्दाहरुको भनाई रहेको हो । यतीबेला जंगलमा डडेलो लगाउने र रातीको समयमा जंगली जनावरहरु स्थानीयको मकै बाली खान आउने र त्यसैबेला सिकार गर्ने क्रम बढेको स्थानीयको भनाइ रहेको छ ।
रौतहटको राष्ट्रिय वनमा यतीबेला सिकारीको बिगबिगि रहेको स्थानीयको भनाइ रहेको छ । जंगलमा बाघ मारेर गाडेको हल्ला फिंजिएपछि अहिले केही सक्रिय सिकारीहरु गाँउ छाडेर हिडेको समाचारस्रोतले बताएको छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जंगलमा हुने अबैध चोरी सिकारीलाई फेला पारे आफुहरुले कडाभन्दा कडा कार्वाही गर्ने बताए ।
गत बर्ष यसै समयमा रौतहटको जंगलमा सिकार खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको थियो । जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गत सिकार खेलिरहेको अवस्थामा तीन जना शिकारी पक्राउ परेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको थियो । जंगलमा गरुड जस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर मारिएको अवस्थामा गुजरा नगरपालिका वडा नं– ५ लक्ष्मीपुर दोस्तीया बस्ने अकवर मियाँका छोरा अन्दाजी २२ वर्षीय शेराज मियाँ दर्जी, सोही ठाउँका ओसि अकतर मन्सुरीका छोरा १८ वर्षीय कलाम मन्सुरी र २२ वर्षिय मौजाहिर मन्सुरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक अधिकृत बैजनाथ मण्डलले जानकारी दिएका थिए । रँगपुर साझेदारी वन कार्यालय र चन्द्रपुर वन डिभिजन कार्यालयका वन कर्मचारीहरु गस्तीमा गएको बेलामा उनिहरुलाई एक थान चक्कु, १५ मिटर डोरी र ३ थान साईकलसहित पक्राउ गरिएको थियो । यस बर्ष समेत रौतहटको वनमा चोरी सिकारी सक्रिय रहेको भएपनि कोही पनि पक्राउ पर्न सकेका छैनन् । २०७९ फागुन २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।