गरुडा,१९ चैत । देवाही गोनाही नगरपालिकाको विकास निर्माणको काममा व्यापक अनियमिता भएको भन्दै स्थानीयले बिगत लामो समय देखी बिरोध जनाउदै आएकाछन् । रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ को निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रम अन्तर्गत अहिले नाला निर्माणको काम चलिरहेको छ ।
नाला निर्माणमा भने लापरबाही भएको पाइएको स्थानीयले गुनासो गरेका छन । कर्कचको ऐलानी पोखरि नजिकैको नाला निर्माणमा स्टिमेट अनुसार काम नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन ।
नाला निर्माणको क्रममा सोलीङ्ग र ढलानमा स्टिमेट अनुसार नगरेको स्थानीयको आरोप छ । १५ से.मि.सोलीङ्ग गर्नुपर्नेमा ४ से.मि.गरेको र ढलानमा १० से.मि.सोलीङ्ग गर्नुपर्नेमा ५ से.मि.गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । रौतहट जिल्लाका बिभिन्न पालिकामा साहु कन्ट्रक्सनले गरेको काम गुणस्तरहिन हुने गरेको स्थानीयको भनाइ रहेको छ । । साहु कन्सट्रक्सनसडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धनसर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भइरहेको छ । करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयामा ठेक्का साकार भइ काम भइरहेको सो स्थानको काम ठेकेदार र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखको मिलेमतोमा गुणस्तरहिन भएको आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीय बासिन्दाले बताए । सो काम २०८० भदौ १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समझौता पत्रमा उल्लेख रहेको छ । सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले खबरदारी गराएका छन् ।
पेटी ठेकेदार धर्मेन्द्र यादवको मिलोमतोमा गुणस्तरहिन काम भइरहेको स्थानियहरुको आरोप छ । यता पोखरिको छेउमानै निर्माण भइरहेको कल्भर्ट निर्माणको काममा कमसल सामाग्री प्रयोग भइरहेको,स्टिमेट अनुसार काम नभइरहेको स्थानिय सुरेश कुशवाहाको आरोप छ । निर्माण व्यवसायीले भने स्टिमेटअनुसार नै नाला निर्माण काम भइरहेको दाबी गरिरहेका छन् । उनीहरुले भने स्थानीयको खबरदारीलाई सकारात्मक रूपमा लिएका छौँ, नाला निर्माणमा काम गरिरहेका कामदारहरु लाइ स्टिमेटअनुसार काम गर्न भनिसकिएको बताएका छन् । २०७९ चैत १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।