इन्दीप कोइराला
बारा, १० वैशाख । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता सहभागी हुँदैछन् । जसमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् । यस क्षेत्रमा ८२ मतदान स्थल छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले शान्तिपूर्ण रूपमा मतदान भइरहेको र बिहान देखिनै मतदाताको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको जानकारी दिएका छन् ।
निर्वाचनका लागि मुख्य राजमार्गबाहेक अन्य सडकमा सवारी आवागमनमा रोक लगाइएको छ भने भारतसंग जोडिएको सिमा नाका बन्द गरिएको छ । निर्वाचनको सुरक्षामा दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवालीलगायतले उम्मेदवारी दिएका छन् ।