चन्द्रपुर,१५ बैशाख । रौतहटको गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना भएको छ । गौर नगरपालिकाको वारुणयन्त्रण दुर्घटना भएर कामै नलाग्ने भएपछि अव रौतहटका १८ वटा पालिकामा आगलागि भएमा चन्द्रपुर नगरपालिकामा रहेको एक मात्र वारुणयन्त्रको भर पर्नुपर्ने भएको छ । गौर नगर क्षेत्रमै भएको आगलगीमा निभाउन गएको वारुणयन्त्र (फायर बिग्रेड) मंगलबार मध्य राति दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । तीमध्ये ३ सख्त घाइते रहेका थिए ।
रौतहटका १६ नगरपालिका र २ गाँउपालिका मध्य गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र थियो । गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना भएर कामै नलाग्ने भएपछि अव जिल्लामा एउटा मात्र वारुणयन्त्र रहेको छ । गर्मीको मौसम सुरु भएसंगै तराईका जिल्लामा आगलागिका घटना बढ्ने गरेकाछन् ।
जिल्लाका अन्य पालिकाका मेयर ,उप मेयर र कार्यालय प्रमुखलाई चढन गाडी किन्ने पालिकालेहरुले वारुणयन्त्र किन्ने तर्फ ध्यान नदिएको बृन्दावन नगरपालिकाका स्थानीय बासिन्दा तथा समाजसेवी रामप्रसाद पटेलले बताए । गौर नगरपालिका– ४ स्थित गढवा गाउँमा आगो लागेको खबर पाउनासाथ मंगलबार राति साढे १२ बजेगौरनगरपालिकाको ना १ ग ७८८ नम्वरको वारुणयन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम अनाअरीसहित पाँच जना घाइते भएका थिए ।
गौर नगरपालिकाको वारुणयन्त्र कामै नलाग्ने गरी दुर्घटनामा परेपछि आफ्नो नगरपालिकाको वारुणयन्त्र २४ सै घन्टा तयारी अवस्थामा राखिएको चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधी तिवारीले तराई एक्सप्रेसलाई बताए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वारुणयन्त्र कम हुँदा ठूलो आगलागीका घटनामा समस्या भइरहेको बताए । ‘एउटा पालिकाले मात्र वारुणयन्त्र खरिद गर्न सक्दैन भने मिलेर किन्न अनुरोध गरेको छु,’ उनले भने । प्रहरीका अनुसार गत वर्ष १ सय ३५ स्थानमा आगलागी हुँदा ७२ वटा घर जलेर नष्ट भएका थिए । ५६ वटा पशुगोठ जले । आगलागीबाट एक जनाको मृत्यु भयो । १० घाइते भए । ४४ चौपाया मरेका थिए ।
गरुडाका नगर प्रमुख कन्थमणि जैसवालले वारुणयन्त्र खरिद गर्न कार्यपालिकाको बैठकमा प्रस्ताव लैजाने बताए । ‘सकेसम्म नजिकका नगरपालिकासित मिलेर खरिद गर्छौं,’ उनले भने । गौर र चन्द्रपुरको दूरी ४२ किलोमिटर छ । यसको बीचमा कतै वारुणयन्त्र छैन । गरुडा, समनपुर, कटहरिया, विजयपुरबीच समन्वय गर्न सक्ने प्रजिअ मिश्रले तराई एक्सप्रेसलाई बताए । जिल्लाको पश्चिम विजयपुर, पूर्वी समनपुर, धरमपुरलगायत क्षेत्रमा आगलागी हुँदा वारुणयन्त्र समयमै पुग्न सक्दैनन । २०८० बैशाख १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।