सिरहा — नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका प्रमुखले बाटोमा दुर्व्यवहार गरेको भन्दै सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ । बिहान १० बजेबाट गरिएको राजमार्ग अवरुद्धका कारण लामो तथा छोटो दुरीका सवारीसाधन पूर्वतर्फ चोहर्वामा रोकिएका छन् । पश्चिमतर्फ भने मिर्चैया नजिक पुलमा रोकिएको छ ।

‘जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएपछि हामी मिर्चैयाका पीडितहरु जानकारी गराउन जिल्ला प्रशासन कार्यालय गएका थियौं,’ मिर्चैयाका अशोककुमार साहले भने, ‘जिल्ला प्रशासन कार्यालय पुगेका पीडितमाथि मेयर श्रवणकुमार यादवले दुर्व्यवहार गरे ।’ मिर्चैया उद्योग वाणिज्य संघ वरिष्ठ सल्लाहकार समेत रहेका साहले मिर्चैया नगरपालिकाका मेयर यादवको कार्यशैलीको विरुद्ध राजमार्ग अवरुद्ध गर्न बाध्य भएको बताए ।