गौर,१६ साउन । रौतहट सदरमुकाम गौरमा एक युवकलाई जनप्रतिनिधिकै उपस्थितिमा बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरिएको जाहेरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिन नमानेका पिडित परिवारले गुनासो गरेकाछन । गौर नगरपालिका– ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई आइतबार अपराह्न ४ बजेतिर केही स्थानीयले कुटपिट गरेको भिडियो ‘भाइरल’ बनेको छ । जसमा गौर– ३ का वडाध्यक्ष अब्दुल ताहिर रमिते बनेका देखिन्छन् ।
प्रिन्सका दाजु अलियास अन्सारीका अनुसार आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ देखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको थियो । उनीहरूले प्रिन्सलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटपिट गरेको उनले बताए ।सोही बिषयमा मंगलबार जाहेरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय गौरका मुद्धा फाँटका प्रहरी निरीक्षक बिन्देश्वर यादवले आफुलाई थर्काएर पठाएको पिडित प्रिन्सका दाजु अलियासले गुनासो गरे । सोही बिषयमा पक्राउ परेका साजिद अन्सारीलाई समेत छुटाउन जिल्ला प्रहरी कार्यालय गौरमा चलखल सुरु भएको समाचारस्रोतले बताएको छ ।