गौर,१ असोज ।
प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बाहिर निकालेर कुटपिट गरेको बिषयमा यातायात मजदुरले कडा बिरोध जनाएकाछन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको र त्यस पछि प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट निकालेर कुटेको घटनाको बिभिन्न यातायात मजदुर संगठनले बिरोध जनाएका हुन ।
रौतहटको कोपवा बजारमा सिमेन्ट झारेर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा चालक फतुवा बिजयपुर–१ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप लगाउदै ट्रक चालक निजगढ बाराका मुकुन्द पोखरेललाई स्थानीयले कुटपिट गरेका हुन् ।
चालक पोखरेललाई इलाका प्रहरी सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायरसमेत गरेको थियो ।
प्रहरी हिरासतमा रहेका चालकलाई हिरासतबाटै थुतेर कुटपिट गरेको बिरोधमा आईतबार नेपाल स्वतन्त्र यातायात मजदुर संगठन रौंतहटले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र समक्ष ज्ञापनपत्र बुझाएकाछन् । आफुहरुले चालक माथि कुटपिट गर्ने उपर कडा कार्वाहीको माग गर्दै सिडियो समक्ष ज्ञापनपत्र बुझाएको मजदुर नेता रामकुमार कटुवालले बताए ।
स्थानीयको कुटपिटबाट घाइते ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरीले बताएको छ । सोही घटनाको बिषयलाई लिएर अखिल नेपाल यातायात मजुर संघका अध्यक्ष डिम कुमार दुलालले बिज्ञप्ती प्रकाशित प्रहरी हिरासतमा रहेका चालकलाई हिरासतबाट थुतेर मरणसान्न हुनेगरी कुटपिट गर्ने माथि कडा कार्वाहीको माग गरेकाछन् ।