रौतहट । हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएको छ । १४ असोजमा रौतहटको देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका यादवलाई हरिपूर्वा नगरपालिकामा थप जिम्मेवारी दिने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्यण गरेको थियो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लाथि हरिपूर्वामा थप जिम्मेवारी लिन भनिएको थियो । तर, उनले हरिपूर्वामा हाजिर भएर नियमित काम सुरु गर्न नै पाएनन् । बुधबार हाजिर भएका उनले बिहीबार कर्मचारीहरुसँग छलफल गरेका थिए ।

तर, बिहीबार नै मन्त्रालयले उनको थप जिम्मेवारी दिने निर्णय उल्ट्याएर देवाहीगोनाहीका लागि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न तोकेको छ ।

१७ वैशाखमा पनि हरिपूर्वामा हाजिर भएको एक घण्टामै उनको काजमा खटाउने निर्णय फिर्ता भएको थियो । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वामा खटाएलगत्तै हाजिर नहुन दबाब खेप्नु परेको थियो । जोडबल गरेर नगरपालिकामा हाजिर भएका उनलाई एक घण्टामै सामान्य प्रशासन मन्त्रालयबाट साविककै जिम्मेवारीमा फर्किन पत्र काटेको थियो ।