रौतहट,१९ असोज ।
रौतहटको एक पालिकाका मेयरको पद चैट भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएसंगै उनको मेयर पदपनि चैट भएको हो । लालबकैया नदिको ठेक्का रद्ध गरी नगरपालिकाका लाई नोक्सान पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा बिशेष अदालतले मेयर यादव लाई दोषि ठहर गरेको हो । आयोगले सो प्रकरणमा २१ जना लाई प्रतिबादी बनाएपनि अदालतले मेयर लाई मात्रै दोषि ठहर गरेको हो । अदालतले उनको सजाय भने असोज २४ गते तोकिएको पेशीमा हुने उपरजिष्ट्रार धन बहादुर कार्कीले बताए । ०७९ असार १२ गते अख्तियारले मेयर यादव सहित तत्कालीन उपप्रमुख कान्ति देवी, वडा नंम्बर. १, २, ३, ५, ६, ८, ९, १०, ११ का वडाध्यक्ष, केही पूर्व वडाध्यक्ष, तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र रञ्जना साह समेत गरी २१ जनालाई मुद्दा चलाएपनि मेयर यादव मात्र सो प्रकरणमा दोषि ठहर भएका हुन । प्रचलित ऐन, कानुन तथा नियम विपरीत लालबकैया नदिको ठेक्का रद्द भएको ठहर अख्तियारको थियो । ठेक्का रद्द गर्दा विजयपुर र गुजरा दुवै नगरपालिकालाई घाटा भएकाले प्रतिवादीहरूबाट असुलउपर गरी क्रमशः ६० र ४० प्रतिशत रकम भराउन अभियोगपत्रमा माग गरिएको थियो । लाल बकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा वोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारको ठम्याई रहेको थियो । एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपैयाँ बिगो दावी गरिएको यस मुद्धामा श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो । स्थानीय तहको निर्बाचनमा दोस्रो कार्यकालको लागि यादव मेयरमा चुनिएका थिए ।