रौतहट,१९ असोज । कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् ।
बितेको मध्यरातअघि ‘ओगटन’ दर खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।
असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ । एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत सुरु गरेका हुन् ।
सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे नौ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन् । व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट जमाएर राखिएको पाकेको आँपको रस खाएर ‘ओगटन’ विधि गरेका थिए ।
मधेसको प्राचीन मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।