रौतहट,३ कार्तिक । जिल्लाको समनपुर क्षेत्रमा गोरखा दरबार संग्रहालय बनाउनका लागि मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले जग्गा दान दिने भएकाछन् ।
रौतहटको समनपुर क्षेत्र लडैया समनपुरका नामले समेत परिचत रहेको छ । अंग्रेजका पालामा सो क्षेत्रमा नेपाली सेना र अंग्रेज सेनाका बिच युद्ध भएको सम्झनामा नेपाली सेनाले सो स्थानमा युद्ध स्मारक समेत निर्माण गरिसकेको छ । डाक्टर राजेश अहिराजले रौतहटमा पनि गोरखा दरबार संग्रहालय विस्तारका लागि आग्रह गरेका छन ।
गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीलाई उनले गोरखा दरबार संग्रहालयमा यस्तो आग्रह गरेका हुन । रौतहटको गढीमाई –४ स्थित सुन्दरपुर क्षेत्रमा नेपाल एकीकरणसँग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्न सघाउन पुग्ने भएकाले आफूले निजी जग्गा सरकारलाई दिएर संग्रहालय बनाउन आग्रह गरेको उनले बताए ।
पूर्वाधार निर्माणका लागि आफ्नो ८ कठ्ठा जग्गा उपलब्ध गराउने उनले जानकारी दिए । संग्रहालय गोरखा दरबारकै नामबाट राख्दा समस्या नहुने उनको तर्क छ । उक्त हाताभित्र राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सालिक र नेपाल एकीकरणसँग सम्बन्धित विषयवस्तुको जानकारी दिन सकिने उनको तर्क छ ।
डा अहिराजले नेपाल एकीकरणको क्रममा राजगुरुको रुपमा मिश्रहरु अर्थात मधेशी समुदायका व्यक्तिहरुको उपस्थिति, हतियार बनाउने र चलाउने कामसँग जोडिएका मुस्लिम समुदायका व्यक्तिहरु, बिसे नगर्चीसमेतका दलितहरु र महिलाहरुको समेत विशेष योगदान रहेकाले उनीहरुकोसमेत योगदान झल्कने गरी सामग्रीहरु प्रदर्शनमा राख्ने व्यवस्था मिलाउन पनि डा. अहिराजले आग्रह गरेका छन ।








