चन्द्रपुर,२४ कार्तिक ।
चन्द्रपुर नगरपालिका–५ राजपैडानजिक नेपाल विद्युत् प्राधिकरणको भवनमा झन्डै १८ वर्षदेखि नेपाली सेना बसिरहेको छ । प्राधिकरणको कार्यालय भने भाडाको घरमा छ । प्राधिकरणको चन्द्रपुर शाखा अपायक भएपछि स्थानीयको मागअनुसार सेना बसिरहेको आफ्नै भवनमा कार्यालय सार्न पहल थालिएको भएपनि सेनाले सो भवन नछाडने देखिएको छ ।
करिव एक बर्ष पहिला मधेस प्रदेश कार्यालय भ्रमणमा आएका नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङलाई चन्द्रपुर शाखा आफ्नै भवनमा सार्न पहल गरिदिन आग्रह गरिएको शाखा प्रमुख धीरेन्द्र यादवले बताए ।
‘अर्काको घरमा बस्दा सामान राख्न समस्या भइरहेको छ । भनेको र पायक पर्ने ठाउँमा उपयुक्त घर भेटिँदैन,’ उनले भने, ‘प्रबन्ध निर्देशकज्यूलाई सेनालाई हटाएर आफ्नै भवनमा प्राधिकरणको कार्यालय सार्न पहल गर्न अनुरोध गरेको एक बर्ष भयो तर कुनै सुनुवाई भएको छैन । कार्यालयले सुरुमा चन्द्रपुर–४ स्थित मुख्य चोकमा पूर्व–पश्चिम राजमागसँगै जोडिएको घर भाडामा लिएर सेवा सञ्चालन गरेको थियो । अहिले चन्द्रपुर–५ स्थित पूर्वटोलामा ४८ हजार रुपैयाँ मासिक भाडा तिरेर कार्यालय राखिएको छ । राजमार्गबाट भित्र रहेको कार्यालयमा सेवाग्राही हतपत पुग्नै सक्दैनन ।
सेवाग्राहीले कार्यालय पायक पर्ने ठाउँमा सार्न दबाब दिएपछि प्रमुख यादवले सेनाले प्रयोग गरिरहेको प्राधिकरणको निजी भवनमा सार्न पहल थालेको बताए । ‘पछिल्लो समय कार्यालय सार्दै हिँड्नुपरेको छ,’ उनले भने, ‘प्राधिकरणको भवनमा सेना बसेको डेढ दशक भयो ।’ सशस्त्र द्वन्द्वका बेला प्राधिकरणको भवनमा संयुक्त सुरक्षा फौज बसेको थियो । त्यसपछि सेना मात्रै बस्न थाल्यो । प्राधिकरणले २०५६ सालमा ८ कट्ठा जग्गामा ५ कोठे भवन निर्माण गरेको थियो । त्यहीबेला सरकारले उक्त भवनमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई राखेको हो । अहिले उक्त भवनमा सेनाको वीर दल गुल्म छ । प्राधिकरणले विभिन्न स्थानमा राख्न ल्याएको विद्युतीय पोल स्थानीयकै खेत र विद्यालयमा राख्ने गरेको छ ।
यसअघि प्राधिकरणले सेनालाई ठाउँ खाली गरिदिन पत्राचारसमेत गरेको थियो । तर, त्यसमा कुनै कारबाही अघि बढ्न सकेको छैन ।