गौर,२८ मंसिर ।
सामान्य प्रशासन मन्त्रालयका कारण रौतहटका स्थानीय तहमा कार्यालय प्रमुखहरु दिनकै फेरबदल हुन थालेका छन् । अधिकांश निमित्तका भरमा चलेका रौतहटका स्थानीयतहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्नका लागि जनमत पार्टीका स्थानीय तथा केन्द्रीय नेताहरुलाई नजराना बुझाउनु पर्ने बताइएको छ ।
जनमत पार्टीका नेता र मन्त्रालयका कर्मचारी मिलाएर रौतहटका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको पत्र लिएर आउनेहरुलाई स्थानीय तहले हाजिर नगराएपछि समस्या उत्पन्न भएको छ । समाचार श्रोतका अनुसार जनमत पार्टीका नेता तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको सेटिङमा ३ देखि ५ लाखसम्म बुझाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको पत्र बोकेर आउनेहरुको विजोग समेत भएको छ । यतिखेर जिल्लाको गढिमाई नगरपालिका,वृन्दावन नगरपालिका,फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउपालिकामा मन्त्रालयका पत्रका कारण समस्या श्रृजना भएको छ । जिल्लाको वृन्दावन नगरपालिकामा मन्त्रालयले पठाएका उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गर्न दिएन । नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रास नारायण पटेल बाहेक अरुलाई नगरपालिकामा हाजिर गर्न नदिने अडान लिएपछि यतिबेला सो नगरपालिका कार्यालय प्रमुख विहिनको अवस्थामा रहेको छ । त्यस्तै गढिमाई नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई हटाएर मन्त्रालयले उनको ठाउमा श्रीदेव यादवलाई पठाएको छ । उनलाई समेत आर्थिक चलखेलको आधारमा सामान्य प्रशासन मन्त्रालयले पठाएको श्रोतको दावी रहेको छ । विगत लामो समयदेखि फतुवा विजयपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका शम्भु यादवलाई हटाएर मन्त्रालयले सुरेन्द्र प्रधानलाई उनको ठाउमा पठाएपछि नेपाली काग्रेसबाट जितेका जनप्रतिनिधिहरु उनको विरुद्धमा रहेका छन् ।
सो नगरपालिकामा आर्थिक बर्षको आधा अवधि सकिदा समेत नगर सभा हुन सकेको छैन । काग्रेस निकट निर्वाचित जनप्रतिनिधिहरुले शम्भु यादव नै हाकिम भएमात्र नगरसभा गर्न दिने अडान लिएका कारण उपसचिव सुरेन्द्र प्रधानले सो नगरपालिकाको नगरसभा गर्न नसकेको स्थानीय बासिन्दा सुरेन्द्र यादवले बताए । रौतहटका स्थानीय तहमा मन्त्रालयले पठाएका उप सचिव स्तरका कर्मचारीलाई नगर प्रमुखले हाजिर गर्न नदिने र स्तर विहिन कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने काम हुदै आएको छ । पछिल्लो समयमा आएर अन्धाधुन्द निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने काममा जनमत पार्टी र सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको दोधारे नितिका कारण समस्या श्रृजना हुदै आएको छ । यसैवीच केही दिन अघि मात्र यमुनामाई गाँउपालिकामा आएका शाखा अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय तह कर्मचारी प्रशासन शाखालाई गाँउपालिकाले पत्र पठाएर कर्मचारी फिर्ता पठाएको जानकारी दिएको हो ।
मन्त्रालयबाट मंसिर २२ गते चं. नं ११९६ को पत्र बमोजिम मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा कर्मचारी संकेत नं. १९४९३३ को ओम प्रकाश यादवलाई काम काजका लागि खटाएको थियो । यादवलाई खटाएको बिषयमा गाँउपालिकाले गम्भिर ध्यानाकर्षण भएको भन्दै फिर्ता पठाएका पत्रमा उल्लेख गरेको छ । सो पालिकामा करीव १५ दिन अघि मात्र गाउ पालिका प्रमुख आफैले स्वास्थ्य शाखामा कार्यरत राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । मन्त्रालयले राम श्रेष्ठ राय यादवलाई हटाएर ओम प्रकाश यादवलाई पठाएको भन्दै सो गाउपालिकाका प्रमुख महमद सउदले उल्टै सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखि आपत्ति जनाएका थिए । रौतहटका १८ स्थानीय तह मध्ये ३ वटा नगरपालिका बाहेक अन्यमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम चलाउदै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आफुले भने अनुकुल चलाउन सकिने र मन्त्रालयले पठाएका उपसचिवले नियम सम्मत बाहेक काम नगर्ने गरेको बुझाईका कारण रौतहटका अधिकांश स्थानीय तहका प्रमुख तथा उपप्रमुखले निमित्त प्रमुख प्रशासकीय अधिकृत नै रुचाउने गरेका छन् ।








