किशोर आत्मन
चन्द्रपुर,२९ मंसिर ।
जिल्लाको बृन्दावन नगरपालिकामा पर्ने बागमती बगरको नदि उकास जमिन सुकुम्बासीको नाममा अतिक्रमण भएको भएपनि सम्बन्धीत निकायको ध्यान जान सकेको छैन । हजारौ हेक्टर वनको जमिन स्थानीय बासिन्दा तथा सुकुम्बासीको नाममा मकवानपुर,चितवन ,सिन्धुली र काभ्रेबाट झरेकाहरुले अतिक्रमण गरेका हुन ।
काँस घारी ,खयर र बयरले छपक्क हरियाली रहेको बागमती बगरलाई अक्रिमणकारीहरुले मासेर यतीबेला धमाधम खेतीयोग्य जमिन र घर टहरा बनाउदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान जान नसकेको स्थानीय बासिन्दाले बताए ।
जंगली जनावरको बसस्थानको रुपमा रहेको बागमतीको हरियाली फाँट हिजो आज उजाड बनेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
बृन्दावन नगरपालिका वडानं १ मा पर्ने बलेरी गाँउको पुर्वपट्टी रहेको बगमतीको हरियालीयुक्त बगरलाई केही दिनदेखी सुकुम्बासीको नाममा फँडानी गरेर खेतीयोग्य जमिन बनाँउदा समेत कसैको ध्यान नगएको भन्दै स्थानीय बासिन्दाले त्यसको बिरोध गरेकाछन् ।
पछिल्लो केही महिना यता आएर बागमतीको बगरमा रहेका खयर ,काँस र बयरलाई मासेर अतिक्रमणकारीहरुले खेत बनाउदा समेत डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले चासो नदिएको बृन्दावन नगरपालिका वडानं २ का वडाअध्यक्ष सिकेन्द्र पटेलले तराई एक्सप्रेसलाई बताए । वन कर्मचारीकै मिलेमतोमा रातीको समय टूेक्टर लगाएर हरियो बगर मासेर अतिक्रमणकारीहरुले सुकुम्बासीको नाममा बगर अतिक्रमण गरेको वडाअध्यक्ष पटेलको भनाइ रहेको छ । हरिण,बंदेल,वन खरायो,निल गाईको बासस्थानका रुपमा परिचत बलेरीको बागमतीको बगर अतिक्रमणको चपेटामा पर्दा डिभिजन वन कार्यालयले चासो नदिनु दुखद रहेको पटेलले गुनासो गरे ।
बलेरी ,बिश्रामपुर लगाएत जिल्ला बाहिरका मान्छेले सुकुम्बासीको नाममा बगर अतिक्रमण गरेर बनाएको खेत बिक्रि बितरण समेत हुदै आएको स्थानीय बासिन्दाले बताए । बागमतीको बगर अतिक्रमण गरेर खेती योग्य जमिन बनाएपछि ३० देखी ५० हजारमा एक बिगाह बिक्रि हुने गरेको स्थानीयले तराई एक्सप्रेसलाई बताए ।
आफ्नो बिश्रामपुर, चन्द्रनिगाहपुर लगाएतका स्थानमा ६ बिगाह जमिन रहेको भएपनि अरुले बगरमा भएको बुट्यान मासेर खेतीयोग्य जमिन बनाएको देखेर आफुले समेत एक बिगाहको हाराहारीमा बगर कब्जा गरेर खेतीयोग्य जमिन बनाएर मुसुरो लगाएको बगरमा भेटिएका हरि साहले तराई एक्सप्रेसलाई बताए ।
केहिदिन यता रातीको समयमा टूेक्टर बगरमा लगेर बगरमा भएका बुट्यान मासेर खेती योग्य जमिन बनाउने होडबाजीनै चलेको स्थानीय बासिन्दा बिगु राउतले बताए । रातभरी बगर दर्जनौ टूेक्टरले बुट्यान जोतेर हरियो बगर उजाड बनाँउदा समेत वन कर्मचारीले चसो नदिएको राउतले बताए ।
यसभन्दा पहिला पनि बागमती बगर अतिक्रमण गरेर घर टहरा तथा बगरलाई खेतीयोग्य जमिन बनाइएकोमा पछिल्लो समय आएर हजारौं हेक्टर हरियो बगरलाई खेतीयोग्य जमिन बनाउने काम भएको स्थानीय राउतको भनाइ रहेको छ ।
डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको सव वन डिभिजन कार्यालय बलेरीका प्रमुख सहायक वन अधिकृत अनिल कुमार महतोले यस भन्दा अगाडि समेत बगर अतिक्रमण भएको र अहिले पनि ठुलो संख्यामा रहेका स्थानीय बासिन्दाले बागमतीको बगरलाई खेतीयोग्य जमिन बनाउने काम गरेको स्विकार गरेका छन् । आफुहरुसंग प्रयाप्त जनशक्ति नभएकाले अतिक्रमण रोक्न नसकेको र अव सो बिषयमा आफुहरुले कति जमिन अतिक्रमण भयो भन्ने बिषयमा एकिन तथ्याङक संकलन गरेर डिभिजन वन कार्यालयले बुझाउने महतोले तराई एक्सप्रेसलाई बताए ।
सो बिषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रसंग सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्ने सरकारी मोवाईल आफ रहेको थियो ।
मिश्र डिभिजन वन कार्यालय रौतहटमा सरुवा भएर आएको केही महिनामै रौतहटको वनमा व्यापक हानीनोक्सानी भएको स्वयम वन कर्मचारीहरुले बताएकाछन् ।
बलरीको बागमती बगर अतिक्रमण्कारीहरुले समेत प्रतिकठा तीन हजारको दरले रकम संकलन गरेर वन कर्मचारीलाई दिने गरेको स्थानीयले बताए ।
२०८० मंसिर २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।
तस्बिरहरु : अशोक पहाडी




