चन्द्रपुर,१३ पुस । रौतहटको वृन्दावन नगरपालिका मेयर विनोदप्रसाद कुर्मी बैंकको कालो सूचीमा परेका छन्। कामना विकास बैंकको चन्द्रपुर शाखा कार्यालयबाट विभिन्न समयमा लिएको ऋण चुक्ता नगरेपछि कर्जा सूचना केन्द्रले उनको खाता कालो सूचीमा राखेको हो। कुर्मीले बैंकबाट विभिन्न समयमा तीन किसिमका कर्जा लिएका थिए। सन् २०१९ डिसेम्बर २५ मा उनले ३२ लाख ३५ हजार रूपैयाँ सवारी कर्जा लिएका थिए। सन् २०२० डिसेम्बर २ मा उनले ७० लाख रूपैयाँ व्यक्तिगत कर्जा लिएका थिए भने सन् २०२१ डिसेम्बर ५ मा ५४ हजार ८०५ रूपैयाँ सवारी बीमा कर्जा लिएका थिए। मेयर कुर्मीले लिएको एक करोड २ लाख ८९ हजार ८०५ रूपैयाँमध्ये उनले ८५ लाख ९ हजार ६ सय १० रुपैयाँ सावाँ र त्यसको ब्याज तिर्न बाँकी रहेको कामना विकास बैंकको कर्जा असुली विभाग अधिकृत प्रमुख डिपी गुरागाईंले बताए। उनका अनुसार ४ सय ३५ दिनदेखि उनले बैंकको साँवा र ब्याज केही बुझाएका छैनन्। ऋण तिर्न छाडेको एक वर्षभन्दा बढी भइसकेपछि कामना विकास बैंकको सिफारिसमा राष्ट्र बैंकको कर्जा सूचना केन्द्रले कालो सूचीमा राखिएको उनले बताए। गुरागाईंका अनुसार जग्गा खरिद गर्ने र एनआइसी एसिया र महालक्ष्मी बैंकको ऋण तिर्ने प्रयोजनका लागि मेयर कुर्मीले व्यक्तिगत ऋण लिएका थिए। ‘एक करोड ४० लाख रूपैयाँ मूल्यांकन गरिएको जग्गा धितोमा राखेर उहाँले ऋण लिनुभयो। ट्रक खरिद गर्न सवारी कर्जा लिनुभयो र उहाँको गाडीको बीमा पनि बैंकले नै गरिदियो,’ उनले भने, ‘ऋण तिर्न बारम्बार फोन गरेर ताकेता गर्दा पनि उहाँले केही प्रतिक्रिया दिनुभएन। फोन पनि कहिलेकाहीँ मात्रै उठाउनुहुन्छ। बैँक आउँदै आउनुहुन्न। मेयरजस्तो पदमा बसेका व्यक्तिले ऋण तिरेन भने सामान्य मानिसले के गर्ला भन्ने हामीलाई चिन्ता भएको छ।’ कुर्मीले बैंकलाई बेवास्ता गरेपछि कर्जा तिर्न आउनु भन्दै २०७९ असार १ गते पत्रिकामा सूचना पनि प्रकाशन गरेको थियो। त्यसपछि समेत उनले ऋण तिर्न चासो नदेखाएपछि नेपाल राष्ट बैंकको बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को निर्देशन नम्बर १२र२०८० को बुँदा नम्बर ९ को उपबुँदा १ ९क० बमोजिम कर्जा सूचना केन्द्रले गत मंसिर १९ गते कालो सूचीमा राखेको हो। मेयर कुर्मीको खाता कालो सूचीमा राखिएको बारे हुलाक कार्यालयबाट पत्र पठाइएको बैंकका कर्जा असुली विभाग अधिकृत गुरागाईंले बताए। ‘उहाँले अझै पनि ऋण तिर्न आनाकानी गरिराख्नुभएको छ। मिलाउँछु मिलाउँछु भन्नुहुन्छ तर तिर्नुहुन्न। बैंकले नियमित प्रक्रियामा एक वर्षसम्म पैसा तिरेन भने अनिवार्य कालो सूचीमा राख्नुपर्छ। अब उहाँको बैकिङ कारोबार रोक्का हुन्छ,’ उनले थपे, ‘अब कालो सूचीबाट उहाँको खाता नहटेसम्म कुनै बैंकले ऋण दिँदैन। बैंकबाट एक हिसाबले अहिलेका लागि उहाँको सम्बन्ध नै टुट्यो।’ गत स्थानीय तह निर्वाचनमा मेयर जितेका कुर्मी नेकपा एकीकृत समाजवादी एस पार्टीका नेता हुन्। माधव नेपाल निकट उनले अरू बैंकहरूबाट समेत ऋण लिएर नतिरेको बताइएको छ। ऋण किन नतिरेको भन्नेबारे मेयर कुर्मी भने बोल्न मान्दैनन्।
म बैंकको सम्पर्कमै छु। कालो सूचीमा राखिएकोबारे मलाई केही थाहा छैन। किन नतिरेको कुराहरूबारे म केही भन्दिनँ,’ भन्दै सेतोपाटीले समाचार प्रकाशन गरेको छ ।








