रुपेन्द्र पटेल
चन्द्रपुर,१० माघ ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर २ मा रहेका भ्यु टावर अलपत्र अवस्थामा रहेका छन् ।
समयमा निर्माण सम्पन्न नभएका कारण ती भ्युटावरहरू अलपत्र अवस्थामा परेका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव डाँडामा बनाइएको भ्यु टावरको काम आधा पनि भएको छैन। बजेट अभावमा सो भ्यु टावरको काम सम्पन्न हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
यता चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको भ्युटावरको काम समेत विगत लामो समयदेखि पुरा हुन सकेको छैन। चन्द्रनिगापुरको टेकान टोल र कप्तान टोलको बीचमा रहेको भ्युटावर विगत लामो समयदेखि टंगरङ्ग उभिएको छ भने त्यसमा कुनै काम हुन सकेको छैन ।
सो टावरको काम समेत आर्थिक अभावका कारण पूरा हुन नसकेको स्थानीय बासिन्दाहरूले तराई एक्सप्रेसलाई बताएका छन् ।
लाखौं लाख खर्च गरेर निर्माण सुरु गरिएका भ्युटावरको काम आर्थिक अभावका कारण हुन नसकेपछि ती भीम टावरहरु नबन्दै पुराना बन्न थालेका छन् । तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीको पालामा सुरु भएका चन्द्रनिगापुर र जुडिबेलाका भ्युटावरको काम समयमा पूरा नभएका कारण नबन्दै बिग्रने अवस्थामा र भत्कने अवस्थामा पुगेका छन् । पछिल्लो समय आएर चन्द्रपुर नगरपालिकाको आर्थिक अवस्था दयनीय बन्दै गएका कारण भ्यु टावर लगायतका स्थानमा बजेट विनियोजन नभएपछि ती स्थानमा बनेका भिउ टावर अलपत्र परेका हुन् ।
चन्द्रपुर नगरपालिकाको आन्तरिक आयस्रोत बिस्तारै खस्कँदै गएपछि बिना योजना निर्माण सुरु गरिएका कार्यक्रमहरू यतिबेला अलपत्र भएका छन्। आन्तरिक आयस्रोत नहुनुका कारण चन्द्रपुरमा रहेका दुई भ्युटावरको अवस्था दयनीय बनेको छ । बजेट अभावका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको भ्युटावरको काम अगाडि बढ्न नसकेको स्थानीय बासिन्दा विक्रम लामाको भनाइ रहेको छ ।
यता लामो समयदेखि अलपत्र अवस्थामा रहेको चन्द्रनिगापुरको भिउ टावर म निर्माणतर्फ सम्बन्धित निकायले चासो नदिँदा सो स्थानमा रहेका निर्माण सामग्री समेत कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाहरूको भनाई रहेको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्लेले भ्युटावरको काम सञ्चालन गर्नका लागि आफूले प्रयास गरिरहेको जानकारी दिएका छन् । २०८० माघ १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।